डा. मुकुल ढकाल साधारण सदस्यसमेत नरहने गरी रास्वपाबाट निष्काशित

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीले डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले उनलाई निष्काशन गर्ने निर्णय गरेको हो। पार्टीको हितविरुद्ध गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो । उनलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका पनि दिइएको थियो ।

अन्तिम पटक ढकाललाई रास्वपाको भदौ ५ गतेको बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उनले जवाफमा सभापति रवि लामिछानेलाई दोषी करार गरिछाड्ने र आफू यस कदमबाट पछि नहट्ने बताएको थियो । यसअघि पार्टी अनुशासन आयोगले ढकालले पार्टीलाई हानी पुर्‍याएको निष्कर्ष निकालेको थियो ।

रवि लामिछाने क्लबलाई निष्काशित गर्ने अधिकार छैन : डा.  ढकाल

पार्टीले निष्कासन गरेपछि डा.  ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन् । उनले रास्वपाबाट निष्काशित गर्ने अधिकार रवि क्लबलाई नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्– ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई छैन ।’ उनले न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गर्ने अपेक्षा गरेका छन् । कारबाहीलाई बदर गरेपछि नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्ने उनले बताएका छन् ।

‘न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनपर्छ,’उनले लेखेका छन्,‘नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला , तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला , समयले पुष्टी गर्दै जानेछ ।’

उनको लेखाई यस्तो छ:- “रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन । न्यायिक निकायले क्लवको कारवाहिलाई बदर गरेपछी , नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ । नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला , तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला , समयले पुष्टी गर्दै जानेछ ।
र अर्को कुरा ,
सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडका छन्, आफूँविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्‍याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र फेरी पनि नैतिकरूपले पतित रविलाई नैतिकता कै प्रश्न , अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस् , एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर