डा. मुकुल ढकाल साधारण सदस्यसमेत नरहने गरी रास्वपाबाट निष्काशित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले उनलाई निष्काशन गर्ने निर्णय गरेको हो। पार्टीको हितविरुद्ध गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो । उनलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका पनि दिइएको थियो ।
अन्तिम पटक ढकाललाई रास्वपाको भदौ ५ गतेको बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उनले जवाफमा सभापति रवि लामिछानेलाई दोषी करार गरिछाड्ने र आफू यस कदमबाट पछि नहट्ने बताएको थियो । यसअघि पार्टी अनुशासन आयोगले ढकालले पार्टीलाई हानी पुर्याएको निष्कर्ष निकालेको थियो ।
रवि लामिछाने क्लबलाई निष्काशित गर्ने अधिकार छैन : डा. ढकाल
पार्टीले निष्कासन गरेपछि डा. ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन् । उनले रास्वपाबाट निष्काशित गर्ने अधिकार रवि क्लबलाई नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्– ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई छैन ।’ उनले न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गर्ने अपेक्षा गरेका छन् । कारबाहीलाई बदर गरेपछि नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्ने उनले बताएका छन् ।
‘न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनपर्छ,’उनले लेखेका छन्,‘नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला , तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला , समयले पुष्टी गर्दै जानेछ ।’