एकै पटक ९१ जना न्यायाधीशको सरुवा
काठमाडौं । न्याय परिषद्को मंगलबार बसेको बैठकले एकै पटक ९१ जना न्यायाधीशको सरुवा गरेको छ ।
प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना न्यायाधीशको सरुवा गरेको न्याय परिषद्का सचिव यमबहादुर बुढामगरले बताए । यसैगरी न्याय सेवा आयोगको मंगलबार बसेको बैठकले दुईसचिवको सरुवा र दुई जनालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको नियुक्तिसम्बन्धी एजेण्डा पनि छलफलमा रहेको थियो । मंगलबार न्यायाधीशहरूको सरुवाको एजेण्डामा धेरै छलफल भएकाले नयाँ सिफारिस हुन नसकेको परिषद् स्रोतले जनाएको छ । अर्को बैठकले न्यायाधीशहरूको सिफारिस गर्ने छ । सर्वोच्च, उच्च र जिल्ला अदालतमा न्यायाधीश रिक्त रहेका छन् ।