रास्वपा महामन्त्री डा. मुकुल ढकाल ७ दिन निलम्बित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई सात दिनका लागि निलम्बन गरेको हो । पार्टी उपसभापति डोलप्रसाद अर्यालले ढकाललाई थम्याएको पत्रमा पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उल्लेख छ ।
पार्टी उपसभापति अर्यालले ढकाललाई दिएको पत्रमा भनिएको छ–’मिति २०८१/०३/१९ गते बसेको केन्द्रीय समिति बैठकमा तपाईंले पार्टी अनुशासनविपरीत अभद्र अशोभनीय अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँड्नुभएकाले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८, रास्वपा विधानको धारा ५५.७ (क) र (ख) तथा धारा ५६(१) तथा केन्द्रीय अनुशासन आयोगको नियमावली नियम ५.२ र परिच्छेद ७ को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगको तत्काल गरेको सिफारिसबमोजिम महामन्त्री तथा प्रवक्ता पदबाट तत्काल लागू हुने गरी सात दिनका लागि निलम्बन गर्ने निर्णय गरिएको कुरा व्यहोरा जानकारी गराइन्छ ।’