गाजापट्टीमा नरसंहार रोक्न संयुक्त राष्ट्रसंघ विफल

काठमाडौं ।  इजरायलले प्यालेस्टाइनको गाजापट्टीमा मच्चाएको नरसंहार रोक्न संयुक्त राष्ट्र संघ विफल भएको छ । १६ दाताले सहायताबाट हात झिकेपछि राष्ट्रसंघीय राहत तथा कार्य निकाय (यूएनआरडब्ल्यूए) ले उत्तरी गाजामा अनिकाल निम्तिएको बताएको छ । निकै लामो दुश्मनीका कारण आक्रमण-प्रत्याक्रमणका क्रममा गत अक्टोबर ७ मा हमासले हमला गरेपछि भूमध्यसागरको पूर्वी किनारमा रहेको गाजापट्टीमा इजरायलले जल, थल र हवाई आक्रमण गरी नरसंहार मच्चाइरहेको छ । इजरायली आक्रमणमा हालसम्म २५ हजार नाघिसकेको छ ।

केही दिनदेखि इजरायलले इजिप्टसँग जोडिएको गाजाको सीमा क्षेत्र रफाहमा पनि भयानक आक्रमण थालेको छ । गाजापट्टीमा लडाकु समूह हमासलाई सिध्याउने बहानामा इजरायलले युद्ध विस्थापितका आश्रयस्थलमा बमबारी गरिरहेको छ । पछिल्लो बमबारीमै कम्तिमा २०० जनाको मृत्यु भएको खबर बाहिरिएको छ । यस्तो स्थितिमा पनि संयुक्त राष्ट्र संघले गाजामा इजरायलले मच्चाइरहेको नरसंहार रोक्न नसकेको हो । इजरायललाई अमेरिकी सहायता प्राप्त छ भने संयुक्त राष्ट्र संघमा पनि अमेरिकी प्रभुत्व कायमै छ ।

ठोस कदम चाल्नुको साटो राष्ट्रसंघीय अधिकारीहरूले अनुदान निलम्बन गर्दा मानवीय सहायतामा कठिनाई भएको दाताहरूलाई सुनाइरहेको छ । यूएन्आरडब्ल्यूएले सहायता निलम्बन गर्ने देशले पुनर्विचार गर्नुपर्ने जनाएको हो । जोर्डनको राजधानी अम्मान पुगेका यूएनआरडब्ल्यूएका सञ्चार निर्देशक जुलियट टुमाले १६ दाता देशहरूले कोष निलम्बन गर्दा सहयतासम्बन्धी निकायलाई सन् २०२४ को लागि अपेक्षित आयको ५१ प्रतिशतभन्दा बढीबाट वञ्चित गर्ने बताए । तौमाले उत्तरी गाजामा अनिकालको चेतावनी समेत दिएका छन्‌ । ६ दिनका लागि केरेम सालोम क्रसिङ बन्द भएयता सहायता प्रवेशमा धेरै प्रतिबन्धहरू रहेको उनले उल्लेख गरेका छन्‌ ।

गाजापट्टीको दक्षिणी क्षेत्र रफाहमा बिग्रँदै गएको अवस्थाबारे बोल्दै तौमाले कम्तिमा मानवीय युद्धविराम हनुपर्ने उनले बताएका छन्‌ । पूर्वाधारको अभाव र दुःखद मानवीय अवस्थाका कारण रफाहमा १४ लाखभन्दा बढी विस्थापितहरूको सुरक्षा चुनौती निरन्तर बढ्दै गएको उनको भनाइ छ । युएनआरडब्ल्यूएका केही कर्मचारी अक्टोबर ७ मा इजरायलविरुद्ध हमासले गरेको आक्रमणमा संलग्न भएको इजरायलले आरोप लगाउँदै आएको छ । आरोपपछि संयुक्त राज्य अमेरिका, बेलायत र क्यानडासहित १६ वटा दाता राष्ट्रहरूले युएन्आरडब्ल्यूएका लागि आफ्नो कोष निलम्बन घोषणा गरेका छन्‌ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर