सानोथिमिस्थित बाल सुधार गृहमा गोली चल्यो
भक्तपुर । मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बाल सुधार गृहमा गोली चलेको छ । सोमबार सुधार गृहमा भएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मूलढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो ।
सो क्रममा तीन कैदी र केही प्रहरी घाइते भएको स्रोतले बताएको छ । घाइते बन्दीमध्ये एक जना गम्भीर घाइते छन् भने दुई जनाको स्थिति सामान्य भएको स्रोतले जानकारी दिए । घाइतेहरुको नागरिक अस्पतालमा उपचार भइरहेको छ ।
आइतबार बिहान सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षीय कमल बस्नेतको मृत्यु भएको थियो । सोही विषयमा सुधार गृहको लापरवाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । सोही क्रममा सुधार गृहभित्रका बन्दीहरुले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका थिए । यसैक्रममा भित्रका बन्दीहरु सुधार गृहको कम्पाउण्डको मूलढोका फोडेर बाहिर निस्किने र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।
बन्दीहरुले सुधार गृह बाहिर निस्केर प्रहरीमाथि आक्रमण गर्दै लखेट्न शुरु गरेका थिए । उनीहरुले प्रहरीलाई एसओएस स्कुलसम्म लखेटेको स्रोतले बताए । अहिले सुधार गृहका सबै पुरुष बन्दी बाहिर निस्केका छन् । सुधार गृहमा रहेका महिला बन्दीहरु भने त्यहीभित्र रहेका छन् । यसैगरी प्रहरीले फरार बन्दीहरुमध्ये करिब २० जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थिमिमा राखिएको स्रोतले जानकारी दिएको छ ।