सानोथिमिस्थित बाल सुधार गृहमा गोली चल्यो

भक्तपुर ।  मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बाल सुधार गृहमा गोली चलेको छ । सोमबार सुधार गृहमा भएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मूलढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो ।

सो क्रममा तीन कैदी र केही प्रहरी घाइते भएको स्रोतले बताएको छ । घाइते बन्दीमध्ये एक जना गम्भीर घाइते छन् भने दुई जनाको स्थिति सामान्य भएको स्रोतले जानकारी दिए । घाइतेहरुको नागरिक अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार बिहान सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षीय कमल बस्नेतको  मृत्यु भएको थियो । सोही विषयमा सुधार गृहको लापरवाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । सोही क्रममा सुधार गृहभित्रका बन्दीहरुले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका थिए । यसैक्रममा भित्रका बन्दीहरु सुधार गृहको कम्पाउण्डको मूलढोका फोडेर बाहिर निस्किने र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

बन्दीहरुले सुधार गृह बाहिर निस्केर प्रहरीमाथि आक्रमण गर्दै लखेट्न शुरु गरेका थिए । उनीहरुले प्रहरीलाई एसओएस स्कुलसम्म लखेटेको स्रोतले बताए । अहिले सुधार गृहका सबै पुरुष बन्दी बाहिर निस्केका छन् । सुधार गृहमा रहेका महिला बन्दीहरु भने त्यहीभित्र रहेका छन् । यसैगरी प्रहरीले फरार बन्दीहरुमध्ये करिब २० जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थिमिमा राखिएको स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर