जेलेन्स्की पछि हट्दै छन् : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको शान्ति सम्झौताको क्रममा रुसले कब्जा गरेको क्रिमिया फिर्ता गर्नुपर्ने दाबीबाट पछि हट्न तयार हुने आफ्नो विश्वास रहेको बताएका छन् । तर यसअघि युक्रेनले यस्तो प्रस्तावलाई अस्वीकार गरेको थियो ।
सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमियामाथिको नियन्त्रण छोड्न युक्रेनी राष्ट्रपति तयार होलान् ? भन्ने प्रश्नमा ट्रम्पले “मलाई त्यस्तै लाग्छ” भन्ने जवाफ दिए । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्न र दुई हप्ताभित्रै सम्झौतामा हस्ताक्षर गर्न अपिल पनि गरे । यसको संकेत यो सम्झौता सम्भव छ भन्ने भएको बीबीसीले जनाएको छ ।
पोप फ्रान्सिसको अन्त्येष्टिअघि भ्याटिकनमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग छोटो भेटघाटपछि पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले यी टिप्पणीहरू गरेका हुन् । ट्रम्पले भेटघाट राम्रो भएको र क्रिमियाको विषयमा छोटो छलफल भएको बताए । युक्रेनले बारम्बार आफ्नो कुनै पनि भूमि छोड्न अस्वीकार गर्दै आएको छ । युक्रेनले युद्धविराममा सहमति भएपछि मात्रै उक्त मुद्दामा छलफल गर्नुपर्नेमा जोड दिएको छ ।