सगरमाथा चढ्ने आरोहीहरूको खुम्बु क्षेत्रमा भीडभाड

काठमाडौं । सगरमाथा (८,८४८.८६ मिटर) हिमालको आरोहण गर्न विश्वका ५३ देशका आरोहीहरू आधार शिविरमा जम्मा भएका छन् । सगरमाथा आरोहणको मुख्य सिजन मानिने यस वैशाख र जेठ महिनामा मात्र चार सय भन्दा बढी आरोहीले सगरमाथाको आरोहण गर्ने भएको छ ।
पर्यटन विभागले दिएको अनुमतिको तथ्याङ्क हेर्दा आरोहण दलबाट अनुमति लिएर आरोहणमा जानेको सङ्ख्या मात्र चार सय भन्दा बढी छ भने उहाँको सहयोगी र गाइड समेत गरी करिब एक हजार जना चुचुरोमा पुग्ने भएको छ । एक आरोहीले कम्तिमा एक जना अथवा दुई जना सम्म गाइड प्रयोग गर्ने गर्छन् भने व्यवस्थापन र सहयोगीको रूपमा सरदार र शेर्पा गाइडहरू समेत चुचुरो पुग्ने भएकाले एक हजार बढी आरोहीको पाइला चुचुरोमा पुग्ने भएको आरोहण आयोजक कम्पनीहरूको भनाई छ ।
अनुमति लिने आरोही ४०२ जना
पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले आइतबार सम्म सगरमाथा आरोहणका लागि ५३ देशका ४०२ आरोहीले अनुमति लिएका छन् । यी मध्ये ४१ आरोही समूहले छन । ७४ महिला आरोही छन् । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुषसहित कूल चार सय १४ जनाले अनुमति लिएका थिए । यसवर्ष विभिन्न हिमाल आरोहणबाट वापत रु ६८ करोड ४० लाख रोयल्टी सङ्कलन भएको छ । आरोही आउनेक्रम जारी रहेकाले यो रकम अझै बढ्ने अनुमान छ ।
सगरमाथा आरोहणलाई सुरक्षित, व्यवस्थित र नियमन गर्न पर्यटन विभागले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ । सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र कीर्तिमानका चाङ लागेका छन् । सगरमाथा आरोहण आफैँमा जोखिम र संवेदनशील भए पनि आरोहीले ज्यान नै दाउ लगाएर आरोहण गरिरहेका छन् ।
सात हजार मिटरसम्म बाटो बन्याे
सगरमाथामा आरोहणका लागि आधार शिविरदेखि तेस्रो शिविर सात हजार मिटरसम्म बाटो खुलिसकेको छ । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने दक्ष शेर्पा टोलीले धमाधम बाटो बनाइरहेका छन् । अनुकूल मौसमको सदुपयोग गर्दै शेर्पा टोलीले तेस्रो शिविरभन्दा माथि बाटो बनाइरहेका छन् । तेस्रो शिविरसम्म बाटो बनेको र अब १० दिनपछि सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको सुरुआत हुने बाटो बनाउने जिम्मा पाएको एटके कम्पनीले जनाएको छ ।
सगरमाथा आधारशिविरमा दुई हजार भन्दा धेरैको भीड
आरोही, गाइड, सरदार, शेर्पागाइड, सहयोगी, किचनका स्टाफ र बेसक्याम्प मेनेजर सहितको टोली आधारशिविरमा रहेको छ । यहाँ करिव दुई हजार भन्दा धेरै मानिसको भीड रहेको गाइड कुङगा शेर्पाले जानकारी दिए । रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका पालहरु र सुविधासम्पन्न सेवा समेत आधारशिविरमा उपलब्ध गराउदै कम्पनीहरुले प्रतिस्पर्धा गरेको पाइन्छ । अहिले आधारशिविर ठमेलको झल्को दिने गरी झकिझकाउ छ । आरोहीको भीडभाड र चहल पहलले बेग्लै रौनकता छाएको छ ।
समुद्री सतहबाट पाँच हजार ३६४ मिटर उचाइमा रहेको आधारशिविर क्षेत्रमा ‘लाउन्ड्री’, ‘क्याफे’, ‘बार’ आदिको व्यवस्थापन गरिएको छ । पाँच सय भन्दा बढी पाल टाँगिएका छन् । एटके एक्सपीडिसन कम्पनीका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले विभिन्न कम्पनीले आरोहीको खाना तथा बास व्यवस्थापनका लागि बनाइएका रङ्गी विरङ्गी पालका सजावटले आधारशिविर रमाइलो देखिएको बताए ।
लुक्लादेखि सगरमाथा आधार शिविरसम्म पर्वतारोही, पदयात्री र सहयोगीहरुको लामो लस्कर देखिन्छ । सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ डोरी टाँग्ने जिम्मेवारी एटके कम्पनीले पाएको छ । करिब ९० प्रतिशत आरोही सगरमाथा आधार शिविर पुगेको प्रबन्ध निर्देशक लाक्पा शेर्पाले जानकारी दिए ।