तराई–मधेशका जिल्लामा ४० डिग्री सेल्सियस तापक्रम

काठमाडौं । तराई–मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा तथा लु (हिट वेभ) चलिरहेको छ । तराई–मधेशका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । धेरै गर्मीका कारण जनजीवन प्रभावित भएको छ । दिउँसो त घरबाहिर निस्किनै नसकिने अवस्था छ । अत्यधिक गर्मीले विगत केही दिनदेखि दैनिक ज्यालादारी गर्ने मजदुरहरूको जनजीवन कष्टकर बनेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भैरहवादेखि पूर्वसप्तरीसम्म तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । मधेश प्रदेशका आठ वटै जिल्लाको सरदर तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । अपराह्न ४२ डिग्री सेल्सियससम्म पुग्ने तापक्रमले शहरी क्षेत्रमा चहलपहल पातलिएको छ । मनसुनी वर्षा सुरु नहुँदासम्म अत्यधिक गर्मी कायम रहने जोखिम रहेको विभागले जनाएको छ । मौसम विज्ञान विभागका अनुसार अहिलेको प्रणाली हेर्दा मनसुनी वर्षा सुरु हुन्छ भन्ने अवस्था छैन ।