दुर्घटनाबाट मोरङको सुन्दरहरैँचा तनावग्रस्त

काठमाडौं ।  टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मोरङको सुन्दरहरैँचा नगरपालिका-१ स्थित हरैँचा बजार आज शुक्रबार करिब ३ घण्टा तनावमय भएको छ । दुर्घटनालगत्तै जम्मा भएको भीडको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार विराटनगर–विराटचोक सडक खण्डअन्तर्गतको हरैँचा बजारमा ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १-०२-०५३ प ७०१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीको दुहबी नगरपालिका-९ का ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटना शुक्रबार बिहान १०ः५० बजेतिर भएको हो।

विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको टिपरले सोही दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए। दुर्घटनालगत्तै भिड जम्मा भएर विराटनगर–विराटचोक सडक खण्ड अवरुद्ध बनाउँदै प्रदर्शन र ढुंगामुढा गर्दा स्थिति तनावग्रस्त बन्न पुगेको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर