काठमाडौं उपत्यकाका सम्पदाहरु हाम्रो सभ्यताको चिनारी हो : मन्त्री पाण्डे

भक्तपुर । भक्तपुर नगरपालिका र पुरातत्व विभागको संयुक्त आयोजनामा ‘२०७२ सालको भूकम्पपश्चात पुनःनिर्माणको एक दशकको पुनरावलोकन’ र अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकको उद्घाटन कार्यक्रम शुक्रबार भक्तपुर दरबार क्षेत्रमा एक भव्य समारोहबीच सम्पन्न भयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मा. मन्त्री बद्रीप्रसाद पाण्डेले पानसमा दीप प्रज्ज्वलन गरी उक्त समारोहको उद्घाटन गरे ।

मन्त्री पाण्डेले कार्यक्रम पूर्ण सफलताको कामना गर्दै काठमाडौं उपत्यकाका सम्पदाहरु केबल सम्पदा मात्र नभई हाम्रो सभ्यताको चिनारी र परिचयको आधार पनि हो भने ।
उपत्यकाका भौतिक र अभौतिक सम्पदाहरुको इतिहासले देशको गर्विलो इतिहासलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताउँदै उनले भूकम्पले क्षति पुगेका भौतिक र अभौतिक सम्पदाल मौलिक शैलीमा पुनःनिर्माण हुनु सबैको लागि गौरवको विषय भएको बताए ।

सम्पदाप्रतिको मोह र आस्था नयाँ पुस्तामा जागृत गराउने सिलसिलाको रुपमा सम्पदासम्बन्धी चित्रकला प्रतियोगिता आयोजना गरिएको बताउँदै उनले सम्पदाको महत्वबारे नयाँ पुस्तालाई सुसूचित गर्दै हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
हाम्रा सम्पदाहरू स्थानीय हुँदै विश्वव्यापी मान्यतासँग जोडिनुपर्ने बताउँदै मन्त्री पाण्डेले सम्पदाहरुको विश्वव्यापी प्रचारप्रसारमा सम्बन्धित सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताउँदै सम्पदा संरक्षणमा स्थानीयहरुको सहभागिता महत्वपूर्ण पक्ष रहेकाले पुरातात्विक सम्पदामाथि हुने हमला र हस्तक्षेपबारे सबैजना सचेत हुनुपर्दछ ।
कार्यक्रमका विशेष अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले ‘भूकम्पीय जोखिम न्यून गर्ने प्रविधिसहित पूर्वाधार निर्माण गर्ने संकल्प’ आजको आवश्यकता रहेको बताए ।
उनले पूर्वाधार निर्माणस्थल, निर्माण सामाग्री, निर्माणमा लाग्ने प्राविधिकहरु र अन्य श्रमिकहरु, निर्माणस्थलमा बस्ने सर्वसाधारण जनतालाई भूकम्पीय जोखिम न्युनीकरण गर्ने प्रविधिबारे जानकारी दिने व्यवस्था गर्नुपर्ने बताउँदै सम्पदा संरक्षणको लागि स्थानीय जनतालाई नै जिम्मेवारी दिने र शिक्षित पार्ने काम गर्नुपर्ने बताए ।

नयाँ पुस्तालाई सम्पदा संरक्षणबारे पाठ्यपुस्तकमै राखेर अध्ययन अध्यापन गराउनु आवश्यक रहेको बताउँदै सांसद सुवालले नयाँ पुस्तालाई सम्पदाको महत्वबारे छलफल र अध्ययनमा संलग्न गराउन सके पुर्खाका धरोहर हजारौं हजार वर्षसम्म जीवित रहीरहने बताए ।
काठमाडौं उपत्यका भूकम्पीय जोखिम क्षेत्र भएको हुँदा भूकम्पबाट क्षति न्युन हुने प्राविधि अहिले सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताउँदै सुवालले भने बसाइँसराइँले जोखिम बढाइरहेको हुँदा देशको सन्तुलित विकास गर्न ७५३ वटै पालिकामा सरकारले भूकम्पीय जोखिम न्युन हुने प्राविधि सहित आवास विस्तार गराउने र बसाइसराइ जिल्ला भित्रमात्र सीमित गर्ने व्यवस्था गराउन सके क्षति न्युनीकरण गर्न सकिन्छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदाको मौलिकता संरक्षणको लागि संस्कृति मन्त्रालय, पुरातत्व विभाग र स्थानीय तह एक भएर लाग्नु आवश्यक भएको बताए ।
नेपाल आउने विदेशी पर्यटकहरुमध्ये करिब २५ प्रतिशत विदेशी पर्यटकहरुले भक्तपुर भ्रमण गर्ने गरेको तथ्याड्ढ रहेको उल्लेख गर्दै उनले गएको आ.ब. मा सार्क र गैरसार्क मुलुकका गरी जम्मा २ लाख ४६ हजारभन्दा बढी पर्यटकहरुले भक्तपुर भ्रमण गरेको र चालु आ.ब. को बितेको ९ महिनामा सार्क र चीनका गरी ८१,८४४ र गैर सार्क देशका १,०३,७०४ गरी १ लाख ८५ हजार ५४८ जनाले भक्तपुर भ्रमण गरिसकेको तथ्यांक प्रस्तुत गरे ।

सम्पदा संरक्षणले देशको पर्यटन उद्योगलाई थप टेवा पु¥याउने विश्वास व्यक्त गर्दै प्रमुख प्रजापतिले भक्तपुरको मौलिकता बचाइराख्न मौलिक शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई अनुदानको व्यवस्था पनि नगरपालिकाले गर्दै आएको अवगत गराउँदै भने, ‘भक्तपुरको मौलिकता बचाइराख्न पुरानो शहरको सिमाड्ढन गरी यहाँको घरजग्गा स्थानीय जनताबीच मात्रै किनबेच गर्न सकिने नीति निर्माण ग¥यौं तर सर्वोच्च अदालतको रोकपछि हामी त्यसबाट पछि हट्नु पर्यो । विश्व सम्पदाहरूको संरक्षण गर्ने हो भने राज्यले नै संरक्षणको लागि विशेष कानुन निर्माण गर्नु आवश्यक छ ।’
काठमाडौं महानगरपालिकाका प्रमुख सुनिता डंगोलले भक्तपुरको सम्पदा पुनःनिर्माण सबैको लागि उदाहरणीय रहेको चर्चा गर्दै सम्पदा संरक्षणमा तीन तहका सरकारहरुबीच समन्वय र सहकार्य गरेर अगाडि बढ्नुपर्छ बताइन् । हाम्रो सम्पदाप्रति हामीले गर्व गर्ने ठाउँ बनाउनुपर्नेमा जोड दिँदै उपप्रमुख डंगोलले काठमाडौं महानगरपालिकाले सम्पदा पुनःनिर्माणमा मौलिक स्वरुपलाई विशेष प्राथमिकतामा राखी काम गर्दै आएको बताइन् ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले भक्तपुर नपाले सम्पदा संरक्षणमा गरेको कार्यबाट सबै स्थानीय तहले अनुशरण गर्नुपर्ने बताउँदै भूकम्पको १ दशक पुनःनिर्माण कार्यको यात्रामा सिकाइ उपलब्धी पनि भएको बताए ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले सम्पदा संरक्षण सबैको साझा दायित्व भएको बताउँदै पुरातत्व विभागले २०७२ को भूकम्पपश्चात क्षतिग्रस्त ८१५ वटा सम्पदाहरुको जीर्णोद्धार तथा पुनःनिर्माण सम्पन्न गरिसकेको बताए ।
भूकम्पबाट क्षति पुगेको सम्पदा अध्ययन अनुसन्धान गर्ने अवसर पनि मिलेको बताउँदै उनले अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठक २०८२ वैशाख १३ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा हुने समेत जानकारी गराए ।
कार्यक्रममा नेपालका लागि युनेकास्कोका प्रतिनिधि जाको डु टुइटले २०७२ को भूकम्पबाट क्षति पुगेका सम्पदा संरक्षण र जिर्णोद्धारमा नेपालले उल्लेखनीय कार्य गरेको बताए ।
उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले धन्यवादज्ञापन गरेका थिए भने सोही क्रममा २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेका सम्पदाहरुको जिर्णाेद्धार तथा पुनःनिर्माणसम्बन्धी जानकारी दिने उद्देश्यले फोटो प्रदर्शनी कार्यक्रम पनि राखिएको थियो । साथै सोही अवसरमा आयोजित चित्रकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार दिइएको थियो ।
प्रतिक्रिया