शिक्षकका समस्या वार्ताको माध्यमबाटै समाधान गरिने : शिक्षामन्त्री पन्त

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकका समस्या वार्ताको माध्यमबाटै समाधान गर्ने बताएको छन् । हिजोज बिहीबार शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पन्तले आफू अब बोल्नेभन्दा पनि काम गरेर परिणाम निकाल्नेतर्फ लाग्ने पनि बताए ।
सञ्चारकर्मीसँग मन्त्री पन्तले भने, “भर्खर मन्त्रालय प्रवेश गरेको छु । सबै विषयमा राम्ररी जानकारी लिएको छैन, त्यसबारेमा राम्ररी जानकारी लिनुअघि मैले बोल्नु त्यति उपयुक्त हुँदैन । अहिले धेरै बोल्नेभन्दा पनि कसरी काम गर्ने भन्नेतर्फ ध्यान दिने छु ।” शिक्षा ऐनलगायत विभिन्न पेशागत माग राख्दै सडक आन्दोलनमा रहेका शिक्षकबारे आफू जानकार रहेको पन्तले उल्लेख गरे ।
कार्यालय समय सकिन लाग्दा मन्त्रालय प्रवेश गरेका उनले सचिव काफ्लेले पेस गरेका मन्त्रालयको आन्तरिक नियन्त्रण व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्न आवश्यक कार्यविधि निर्माण गर्ने टिम गठनको फाइल सदर गरेर कार्यभार समादेका थिए ।
सबै समस्या समाधानको एउटै उपाय वार्ता भएको उनले बताए । शिक्षकहरू चैत २० गतेदेखि निरन्तर बबरमहल तथा बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । शिक्षकका मागबारे छलफल गर्न सरकारले पटकपटक अनुरोध गरे पनि शिक्षकले अस्वीकार गर्दै आएका छन् । तर मन्त्रालयका अधिकारीसँग अनौपचारिक छलफल भने भइरहेको छ । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि पन्त शिक्षामन्त्रीमा नियुक्त भएको हो ।
कार्यभार समाल्नुअघि मन्त्री पन्तले राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रिपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएको थियो । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पन्तलाई मन्त्रीमा नियुक्त गरेका थिए ।