अन्तत: कक्षा १२ को परीक्षा वैशाख २१ का लागि सारियो

काठमाडौं ।  भोलि वैशाख ११ गते बिहीबारदेखि हुने भनिएको कक्षा १२ को परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आउँदो वैशाख २१ गतेदेखि गर्ने गरी परीक्षा १० दिन सारेको हो । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा यसअघि तोकिएको मितिमा हुन नसकेको हो ।

परीक्षा कसरी गर्ने अन्योलकैबीच हिजो मंगलबार  बसेको बोर्ड बैठकले विभिन्न संयन्त्र परिचालन गर्ने निर्णय गरेको थियो । तर दिनभर अनेक छलफल गरे पनि परीक्षा सञ्चालनको ठोस आधार नभएपछि परीक्षा सार्ने निर्णयमा बोर्ड पुगेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले आउँदो २१ गतेदेखि सञ्चालन गर्ने गरी परीक्षा सार्ने निर्णय भएको जानकारी दिए । हिजो बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले नै परीक्षा सार्न सुझाव दिएको हो । त्यसअघि हिजो बिहानको बोर्ड बैठकले निजामती कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यद्यपि, निजामती कर्मचारीले पनि परीक्षामा सहयोग नगर्ने र शिक्षकबिना परीक्षा सञ्चालन गर्न असहज हुने बताएका थिए । बोर्डका अध्यक्ष शर्मासहितको टोलीले प्रधानमन्त्री ओलीसँग बालुवाटार पुगेर छलफल गरेपछि प्रधानमन्त्रीले केही दिन परीक्षा सार्न निर्देशन दिएको र निर्देशनअनुसार बोर्डको बैठक बसेर परीक्षा २१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

गएको चैत २० गतेदेखि विभिन्न माग राखेर शिक्षक महासङ्घले काठमाण्डौ केन्द्रित आन्दोलन र शैक्षिक हडताल गर्दै आएको छ । आन्दोलनको आज २२ दिन पुगेको छ । गएको शनिवारसम्म दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएकोमा उनीहरुले आइतवारदेखि बिहान ९ देखि १२ बजेसम्म आन्दोलन गरे । आज समय हेरफेर गरी ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रदर्शन गर्ने नेपाल शिक्षक महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर