सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै

काठमाडौं । आन्दोलनका कारण शिक्षकहरुले कक्षा १२ को परीक्षामा सहभागी नहुने बताएसँगै परीक्षाबारे अन्योल सिर्जना भएको थियो । तर राष्ट्रिय परीक्षा बोर्डले भने तोकिएकै समय र मितिमा परीक्षा गर्ने निर्णय गरेको छ । शिक्षक सहभागी नभए निजामती कर्मचारी परिचालन गरेरै भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।

परीक्षाको समय फेरबदल गर्दा विद्यार्थीको परीक्षाको तयारीमा असर पर्ने तथा समय खेर जाने भएकाले परीक्षा नरोक्ने उनले बताए । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मेवारी दिएर परीक्षा सञ्चालन गर्ने निर्णय भएको नियन्त्रक शर्माले बताए । प्रमुख जिल्ला अधिकारीले प्रत्येक परीक्षा केन्द्रमा जिल्लास्थित निजामती कर्मचारीलाई परिचालन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

आन्दोलनमा सहभागी नभएका शिक्षकलाई परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष बनाउने र त्यस्तो अवस्था नभएका केन्द्रमा प्रमुख जिल्ला अधिकारीले नै निर्णय गरेर व्यवस्थापन गर्ने गरी परीक्षा सञ्चालन गरिने भएको छ । बोर्ड बैठकले आन्दोलनरत शिक्षकलाई कक्षा १२ को परीक्षा सञ्चालन गर्नलाई सहयोग गर्न पनि आह्वान गरेको छ । यसवर्ष कक्षा १२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन् ।

परीक्षाका लागि जापानमा एउटासहित एक हजार ५९१ परीक्षा केन्द्रको व्यवस्था गरिएको छ । त्यति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याको आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिने बोर्डले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर