योगेश भट्टराई शौचालयभित्र थुनिए !

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईविरुद्ध ताप्लेजुङमा नाराबाजी भएको छ। कञ्चनजंघा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भट्टराई शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेप पुगेका थिए।
उनीसँगै पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे पनि हेलिकप्टर चढेर ताप्लेजुङ पुगेका थिए। कार्यक्रम सकेर फर्किन लाग्दा भट्टराईविरुद्ध नो केबलकार समूह र पहिचानवादी समूहले नाराबाजी गरेका थिए। पर्यटनमन्त्री पाण्डे हेलिकप्टर नजिक गइसकेका थिए। भट्टराईचाहिँ नजिकै रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको शौचालय गएका थिए।
उनी शौचालयभित्र छिर्नेबित्तिकै पहिचानवादी समूह र नो केबलकार समूहले शौचालय घेरेर भट्टराईविरुद्ध नाराबाजी गरेका थिए।लगत्तै प्रहरीले भट्टराईलाई सुरक्षा प्रदान गरेको थियो। भट्टराई शौचालयभित्रै रहँदा प्रहरीले बाहिरबाट चुकुल लगाइदिएको थियो। केहीबेरमा प्रहरीले परिस्थिति सामान्य बनाएपछि चुकुल खोलेर भट्टराईलाई बाहिर निकाली हेलिकप्टरसम्म पुर्याएर काठमाडौं पठाएको थियो। (तस्बिरः फाइल)