आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर हाल स्थानीय वायु प्रणालीसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी प्रदेशमा मुख्यतः मौसम सफा र आंशिक बदलीको स्थिति देखिएको छ ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा जारी रहेको छ। यस्तै, आज दिनभर देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । विशेषगरी कोशी प्रदेशसहित देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना समेत देखिएको छ। साथै, देशका उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातसमेत हुन सक्ने महाशाखाको अनुमान छ ।
आज रातिको समयतर्फ हेर्दा पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहन सक्नेछ भने बाँकी भू-भागमा मुख्यतः सफा र आंशिक बदलीको अवस्था कायम रहने पूर्वानुमान गरिएको छ ।