चीनमाथि अमेरिकाको २४५ प्रतिशत आयात शुल्क, व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनबाट अमेरिका आयात हुने सबै सामानमा २४५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । अमेरिकाले लगाएको आयात करको विरोधमा चीनले प्रतिशोधात्मक कदम चालेपछि अमेरिकाले अर्को घोषणना गरेको हो ।
मंगलबार राति अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको ‘फ्याक्ट सिट’मा २४५ प्रतिशत आयात कर लागु गर्ने घोषणा गरिएको छ । यस निर्णयलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिको अभिन्न अंगको रूपमा परिभाषित गरिएको छ । अमेरिकाको पछिल्लो घोषणासँगै दुई देशबीचको तनाव थप बढेको छ ।
चीनले हालै लागु गरेको दुर्लभ धातु तथा खनिजको अमेरिका निर्यातमा प्रतिबन्ध लगाएको प्रत्युत्तरमा अमेरिकी कदम आएको बताइएको छ । एकपछि अर्को आयात करका कारण विश्वव्यापीरूपमा सेयरबजार र लगानीकर्ताको मनोबलमा असर पारेको छ ।
अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा बेइजिङमा निर्भर रहेको बताएपछि चीनले बुधबार अमेरिकासँग व्यापार युद्ध लड्न ‘नडराउने’ चेतावनी दिएको छ । यद्यपि, चीनले वार्ताका लागि अमेरिकालाई पुनः आह्वानसमेत गरेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “यदि अमेरिका वास्तवमै संवाद र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न चाहन्छ भने उसले चेतावनी र ब्ल्याकमेलिङजस्ता अत्यधिक दबाबको नीति रोक्नुपर्छ र समानता, सम्मान र पारस्परिक लाभका आधारमा चीनसँग वार्ता गर्नुपर्छ ।
ट्रम्पले सुरुमा फेन्टानिल आपूर्ति शृङ्खलामा चीनको कथित भूमिकाको कारण चीनबाट आयात हुने सामानमा कर लगाएका थिए । हालै, वासिङ्टनले अनुचित ठानेको व्यापार अभ्यासमाथि ती करहरू तीव्र रूपमा बृद्धि भएका छन् ।