यस्तो छ, नेकपा एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनसँग र केही राष्ट्रिय राजनीतिसँग जोडिएका विषयहरुमा छलफल गरेको छ । पार्टी कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले वैशाख ९ गते आफ्नो पार्टी स्थापनाका दिन सात जनालाई यो वर्षको कम्युनिष्ट योद्धा सम्मानबाट सम्मानित गरिने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
उनले भने, ‘बैठकमा केही पार्टीको आन्तरिक जीवनसँग जोडिएका र केही राष्ट्रिय राजनीतिसँग जोडिएका विषयहरुमा छलफल गरेका छौं । आगामी वैशाख ९ गते पार्टी स्थापनाको ७६ वर्षगाँठ सम्पन्न भएर ७७ औँ वर्षगाँठलाई भव्य रुपमा मनाउने तयारी गरेका छौं । त्यसमार्फत नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ ऊर्जा, शक्ति, सामर्थ्य र नयाँ दिशाका साथ अगाडि बढाउने हामीले संकल्प गर्ने छौं । विगत वर्षमा जस्तै हामीले कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउने केही विशिष्ट व्यक्तित्वहरुलाई कम्युनिष्ट योद्धाको हिसावले सम्मान गर्ने निर्णय बैठकमा गरेका छौं । त्यसअन्तर्गत लालबहादुर विश्वकर्मा कञ्चनपुर, रत्नशर्मा न्यौपाने जाजरकोट, शोभाराम बस्नेत दाङ, बाचस्पति देवकोटा गोरखा, शान्ता मानवी काठमाडौं, सत्यनारायण मण्डल सप्तरी र हरिचरण सिवाकोटी झापालाई यो वर्षको कम्युनिष्ट योद्धा सम्मानबाट सम्मानित गरिने निर्णय भएको जानकारी गराउन चाहन्छु ।’