नेपालको लगातार दोस्रो जित, ओमानलाई ८ विकेटले हरायो

काठमाडौं । नेपालले यू–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित निकालेको छ । सोमबार सम्पन्न खेलमा ओमानलाई ८ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित हात पारेको हो । पहिलो खेलमा नेपालले यूएईविरुद्ध ५ रनको जित निकालेको थियो । दोस्रो खेलमा ओमानले दिएको १ सय १८ रनको सामान्य लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका ओपनरद्वय साहिल पटेल र निरजकुमार यादवले पहिलो विकेटका लागि ८५ रनको सानदार साझेदारी गरे । निरजले ३१ बलमा पाँच चौका र दुई छक्कासहित ४६ तथा साहिलले ४४ रन बनाए । कप्तान नरेन भट्ट अविजित १२ रनमा क्रिजमा रहे । त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमान ३६ ओभरमा १ सय १७ रनमा अलआउट भयो ।
उसका लागि ब्रजेश शाहले अर्धशतकीय पारी खेले । उनले ७८ बलमा ६ चौकासहित ५२ रनको पारी खेलेका हुन् । यस्तै, सिद्धार्थ सौम्य शंकरले १६ तथा प्रथिस हेमा रमेशले १० रन जोडे । नेपालका लागि युवराज खत्रीले घातक बलिङ गरे । उनले ७ ओभरमा २ मेडनसहित १५ रन खर्चेर ५ विकेट लिए । यस्तै, सन्तोष यादवले दुई, अपराजित पौडेल, अशोक धामी र दयानन्द मण्डलले एक/एक विकेट हात पारे ।
यो जितसँगै नेपालले २ खेलबाट ४ अंक जोडेको छ । नेपालले अब बुधबार हङकङ तथा अन्तिम खेलमा अफगानिस्तानको सामना गर्ने तालिका छ । जारी प्रतियोगिताको उपाधि जित्ने टिमले सन् २०२६ को यू–१९ विश्वकपमा स्थान बनाउने छ ।