२०१९ यता एमबाप्पेले पहिलोपटक रातो कार्ड पाए

काठमाडौं। रियल मड्रिडले आइतबार किलियन एमबाप्पेको रातो कार्डको बाबजुद अलाभेसविरुद्ध १–० को जित निकालेको छ। यो नतिजासँगै रियलले स्पेनिस ला लिगाको लिडर बार्सिलोनासँगको अन्तर चार अंकमा झारेको छ।
एमबाप्पेले अलाभेसका मिडफिल्डर एन्टोनियो ब्लान्कोमाथि ‘स्टड्स–अप ट्याकल’ गरेका कारण खेलको पहिलो हाफको अन्त्यतिर पहिला पहेँलो कार्ड पाएका थिए। तर, भिडियो रेफ्री (भिएआर) हेरेपछि रातो कार्डमा परिवर्तन गरियो।
यो घटनासँगै सन् २०१९ यता एमबाप्पेले पहिलोपटक रातो कार्ड पाएका छन्। उनले अब अर्को आइतबार एथ्लेटिक बिलबाओविरुद्धको खेल गुमाउने छन्।
‘किलियन हिंस्रक खेलाडी होइन, उसले माफी मागिसकेको छ,’ रियलका सहायक प्रशिक्षक डाभिड एन्सेलोटीले भने। मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले निलम्बनका कारण स्ट्यान्डबाट खेल हेरेका थिए।
अलाभेस पनि ७०औं मिनेटमा १० खेलाडीमा सीमित भयो। मानु सान्चेजले भिनिसियस जुनियरमाथि फाउल गरेपछि रातो कार्ड पाएका थिए। रियलका लागि एदुआर्दो कामाभिङ्गाले ३४औं मिनेटमा बक्स बाहिरबाट विजयी गोल गरे। उनले पछिल्लो पटक जनवरीमा कोपा डेल रेमा गोल गरेका थिए।
यसअघि बार्सिलोनाले शनिबार लेगानेसलाई १–० ले हराउँदै अग्रता लम्ब्याएको थियो। रियलको यो जितले तीन खेलको जितविहीन यात्रालाई अन्त्य गरेको छ। यसमा च्याम्पियन्स लिगमा आर्सेनलसँग ३–० को हार पनि समावेश छ।
कार्लो एन्सेलोटीले बुधबारको दोस्रो लेगअघि नियमित खेलाडीहरूलाई आराम दिएका थिए। ‘यो जितले हामीलाई आत्मविश्वास दिन्छ, डाभिड एन्सेलोटीले भने, हामीलाई थाहा थियो यो सजिलो हुने छैन।’
अलाभेस १७औं स्थानमा छ र रेलिगेसन क्षेत्रबाट थोरै माथि मात्र छ। ७०औं मिनेटमा केही दर्शकहरूले रियलका डिफेन्डर राउल असेन्सियोविरुद्ध ‘मर’ भन्ने नारा लगाउँदा खेल केहीबेर रोकिएको थियो।