संवैधानिक राजसंस्थालाई कबूल गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले दिए यस्तो सन्देश (पूर्ण विवरण)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै जनभावना र चाहना बुझी मुलुककै समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने स्पष्ट देखिएको बताएका छन्। उनले देशलाई शान्त र समृद्ध मुलुक बनाउने जागरूकता जनतामा पैदा भएको उल्लेख गर्दै आगामी वर्ष परिणाम आउने विश्वास थपिएको बताएका छन्। उनले गत चैत १५ गते भएको तीनकुने घटनाबारे दुख व्यक्त गर्दै नागरिक स्वतन्त्रताभन्दा ठूलो कुनै बाद वा तन्त्र नहुने पनि बताएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले विक्रम संवत् २०८२ सालको अवसरमा दिएको सन्देशको पूर्ण विवरण यस्तो रहेको छ:
प्रिय आत्मिक दाजुभाइ दिदी बहिनीहरू,
हामी नेपालीहरूको घर आँगनमा नयाँ वर्ष २०८२ आइपुगेको छ । नयाँ घाम, नयाँ ज्योति, नयाँ उत्साह लिएर आएको नयाँ वर्षको उपलक्ष्यमा देशतथा विदेशमा रहे बसेका सम्पूर्ण नेपालीहरूको सुख र शान्तिको मंगलमय शुभकामना । हरेक नयाँ वर्ष नूतन आशा र विश्वास बोकेर आउने तर वर्षको विदाइमा एउटा घनघोर निराशाका बिच हुने गरेको धेरै साल भयो । समाजका विभिन्न दल, वर्गर जन समुदायले आफ्नो धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पर्दछ ।
केही दिनअघि जन प्रदर्शनमा जु प्रकारको हिंसा, आगजनी र तोडफोड भयो त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो । नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ राम्रो, नराम्रो जन गुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ, त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं । वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय र अनुशरणीय छ ।
देशलाई विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, नयाँ वर्ष २०८२ मा नेपाली जनताको चाहनाअनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ । मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुर्याउँदै आएको विदितै छ । राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जन भावनाबमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहिआएको छ ।
वर्तमानमा बदलिँदो जन चाहनाको पनि कदर गरी राज्य शक्तिको स्रोत जनता नै हुन् भन्ने मञ्जुरी सदैव स्थापित हुनु पर्दछ । राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराजको दिब्य उपदेशलाई नै अबको राज्य सत्ताको मूलमन्त्र सोच्नुमा के होला रु सन्तुलित कूटनीतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पनानै पृथ्वी पथको मूल सार हो । यही नै राजनीतिको मूलधार हुनुपर्ने हो । विश्वको बदलिँदो परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारहरूलाई चुनौतीको रूपमा लिँदै चरम आर्थिक मन्दी भोग्नुपरिरहेको अहिलेको सन्दर्भमा नेपालजस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनुपर्ने समय आएको छ ।
स्वदेशी स्रोतसाधन प्रयोगले स्वदेशमै उत्पादन गरी स्वदेशमै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्रभित्रबाटै मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गराउनुपर्ने विश्व परिवेश निर्माण हुँदैछ भन्ने देखापरिरहेका छन् । विश्वकै उत्कृष्ट यो भूमिमा बाँच्नसमेत गाह्रो हुने स्थिति पैदाभएपछि बढ्दो युवा पलायनलाई रोकी युवाशक्तिको श्रम र सीपलाई स्वदेशमै रोकी युवाशक्तिको श्रम र सीपलाई स्वदेशमै उच्च उपयोग गर्नुपर्दछ । युवा स्वरोजगारको निम्तिि अवसरहरूको खोजी गरी नेपालमै आय आर्जन गर्न सक्ने वातावरण तयार गर्नुपर्ने आजको पहिलो आवश्यकता बनेको छ । सबै नेपालीको तनमन र ध्यान त्यसैमा लगाउनुपरेको छ । विश्वभरी छरिरहेका नेपालीहरू एकताका सूत्रमा बाँधिनु अब ढिला गर्नु हुँदैन ।
आफ्ना ज्ञान र सीप सामथ्र्य मात्र होइन त्यहाँ आर्जेको पूँजी, स्रोत र साधनसमेत नेपालमै लगाउनु पर्दछ भन्ने भावना सबैमा जागृत गराउनुपरेको छ । प्रकृतिले दिएको स्वर्गजस्तै सुन्दर हिमवत् खण्ड नेपाल सिँगार्न र विकासको बिगुल फुक्न कसरी लाग्ने र लगाउने स्वदेश फर्क स्वदेशनै स्वर्ग भन्ने अभियान आजको आवश्यकता भएको छ । जन भावना र चाहना बुझी मुलुकको समग्र संरचनामै हेरफेर र सुधारका कदम चाल्नुपर्ने तथ्य स्पष्ट देखिन्छ । शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरूमा आमूल परिवर्तनहरू सुधार गरी यीनको आधुनिकीकरण अनिवार्य भइसकेको छ । युग प्रविधिको हो । सावधानीपूर्वक उपयोग गर्न सकेमा राष्ट्रको योगदानमा ठूलो टेवा पुग्न सक्नेछ ।
सुशासन र भ्रष्टाचारमुक्त प्रशासन मूल नारा हुनुपर्दछ। हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौँ। त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासहरूमा ऐक्यबद्धता रहने छ। मुलुकको गिर्दो अर्थ व्यवस्था रुग्न हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्रिय ऋण र बेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, र राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा, असन्तुष्टि हाम्रो चिन्ताको मूल विषय हो । नागरिक पलायनसँगै पूँजी पलायन, भ्रष्टाचार र बेथिति देशले थाम्नै नसक्ने स्तरमा झाँगिएको छ । यो स्थितिमा नयाँ वर्षलाई उपलब्धिमूलक हामी सबै नेपालीको सामूहिक र एकताबद्ध अपरिहार्य भएको छ । नेपाली–नेपालीबिच द्वन्द्व नहोस्, परस्पर अविश्वास र हिंसाको दुःखद मनस्थिति नबनोस्, देशवासीहरू कुनै पनि नाम र निहुँमा ध्रुवीकृत नबनून् भन्नेतर्फ हामी सदैव सचेत र संवेदनशील छौं ।
नेपालीको एकतामा नै नेपालको भविष्य निहित रहेको यर्थाथलाई हामीले आत्मसात् गरेका छौं । सबैले यही वास्तविकतालाई आत्मबोध गर्नुपर्दछ भन्ने ठान्दछौं । हाम्रो आह्वान हामी कसैको निजी स्वार्थपूर्तिका निमित्त होइन, कुनै खालको सैद्धान्तिक वाद वा विचारको होइन, समग्र राष्ट्रको स्वाधीनता, समग्र जनताको संप्रुभता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो । आफ्नै प्रकारको अग्रणी राष्ट्र हामीले नै बनाउने हो । अनि आफ्नो स्वतःह अनि, आफ्नो अस्तित्व हामी आफैँले उठाउने हो । संसार धेरै अघि बढी सक्यो तर हामी यो वा त्यो वादको चक्रव्यूहमा फसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ । हरेक समस्याको समाधान संवाद, सहमति, समन्वयन र सहकार्यबाट हुन सक्छ । आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं । नयाँ वर्षले नयाँ आशा, उमंग र उत्साह ल्यावस्, अनि, नेपालीको सुनौलो भविष्यको सुनिश्चितता होस् । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् । जय नेपाल !