वीरगन्जमा आज राति १२ बजेसम्म कर्फ्यु जारी रहने

काठमाडौं । वीरगन्जमा लगाइएको कर्फ्युको समय थप गरिएको छ । वीरगन्जमा आइतबार राति १२ बजेसम्मका लागि कर्फ्युको समय बढाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । यसअघि जिल्ला प्रशासनले शनिबार साँझ साढे ७ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । तर, आइतबार बिहान कर्फ्युको समय बढाएर राति १२ बजेसम्मका लागि आदेश जारी गरिएको हो ।
शनिबार हनुमान जयन्तीका अवसरमा निकालिएको शोभा यात्राका क्रममा दुई समुदायबीच उत्पन्न विवादले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको थियो । अवस्था अझ सामान्य नरहेको र बिहान बसेको सर्वदलीय बैठकमा कर्फ्युलाई निरन्तरता दिन आएको सुझावलाई मध्यनजर गरेर कर्फ्युको समय बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
विवाद समाधानका लागि ३ बुँदे प्रतिबद्धता
हनुमान जयन्तीका अवसरमा आइतबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न परिस्थितिपछि आज भएको राजनीतिक दलका प्रतिनिधिहरुको सर्वदलीय बैठकले शान्तिसुरक्षा र अमनचयनमा खलल पुग्ने गतिविधि नगर्न र सामाजिक सद्भाव कायम गर्न सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको छ।
हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्राका क्रममा भएको विवादलाई समाधान गर्नका लागि आइतबार बिहान सर्वदलीय बैठक डाकिएको थियो। बैठकले स्थानीय सङ्घसंस्था र समुदायलाई र्याली, बन्दलगायत गतिविधि नगर्न अनुरोध पनि गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा भएको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबैसँग अनुरोध गरेको हो।