काठमाडौं उपत्यकाको वायु प्रदूषण ह्वात्तै घट्यो

काठमाडौं । वर्षा र हावाहुरीसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण ह्वात्तै घटेको छ। विश्वकै वायु गुणस्तर मापन गर्ने ‘एअर क्वालिटी इन्डेक्स’को सूचीमा २ दिनअघि मात्र पहिलो नम्बरमा रहेको नेपाल आज ४२औँ नम्बरमा झरेको हो।
नेपाली समयानुसार आज (शनिबार) दिउँसो १:१५ बजेको सूचीमा काठमाडौँ, नेपाल विश्वका वायु पदूषित सरहमध्ये ४२औँ नम्बरमा झरेको छ। यतिबेला काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) ६७ मात्र छ। ५० सम्मको एक्यूआईलाई सन्तोषजनक र १५० देखि २ सयसम्मलाई अस्वस्थ मानिन्छ।
अहिले विश्वकै सबैभन्दा बढी वायु प्रदूषण चीनको वुहान सहर बनेको छ। त्यहाँ यतिबेला एक्यूआई २५० छ। लामो समय वर्षा नहुँदा र हावाहुरी नचल्दा काठमाडौँ उपत्यकामा वायू प्रदूषण निकै बढेको थियो। दुई/तीन दिनयता हावाहुरीसँग वर्षा हुन थालेपछि वायु प्रदूषण घट्दै गएको हो। काठमाडौँ उपत्यकामा आज बिहान पनि हावाहुरीसहित पानी परेको थियो।