मध्यपुर थिमिमा खुल्ला धिमे बाजा प्रतियोगिता सम्पन्न

भक्तपुर । नेवारी संस्कृतिलाई जीवन्त राख्न र नयाँ पुस्तामा बाजा संस्कृति हस्तान्तरण गर्न मध्यपुर थिमिको भुलाँखेलमा सम्पन्न खुल्ला धिमे बाजा प्रतियोगितामा श्री राज गणेश धिमे खलः प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना र नित्य नाथ धिमे खलः को संयोजनमा सम्पन्न भएको प्रतियोगितामा मध्यपुर थिमि–४ को श्री राज गणेश प्रथम भएको हो ।
श्री राज गणेशले शिल्ड, प्रमाणपत्रका साथै नगद ५० हजार पुरस्कार पाएका छन् । प्रतियोगितामा सूर्य विनायक नगरपालिका वडा नं।–२ सिरुटारको श्री नासः धिमे खलः दोस्रा र श्री नासः धिमे खलः ले नगद २५ हजारका साथै शिल्ड, प्रमाण पत्र प्राप्त गरेका छन् । यसैगरी मध्यपुर थिमिकै सिवा सायमी खलः तेस्रो र काभ्रेपलान्चोक पनौतीस्थित नेवाः देय दबुले सान्त्वना पुरस्कार प्राप्त गरे ।
सिवा सायमी खलः ले नगद १५ हजार, शिल्ड, प्रमाण प्राप्त गरे भने नेवाः देय दबुले नगद १० हजार प्राप्त गरे । प्रतियोगितामा विजयी खलःलाई पुरस्कार वितरण गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले स्थानीय कला संस्कृति, बाजागाजाको संरक्षणमा विशेष जोड दिइरहेको बताए । उनले बाजाहरूमा युवा पुस्ताको आकर्षण बढाउन बर्सेनी प्रतियोगिताहरू गर्दै जाने र यस्ता प्रतियोगितामा नगरका सबै वडाहरूमा आलोपालो गर्ने योजना रहेको सुनाए । आगामी वैशाख १३ गते वडा नं. १ लोहकिल्थलीमा बाँसुरी बाजा प्रतियोगिता हुन लागेको जानकारी पनि उनले दिए ।
नगरपालिकाले पछिल्ला वर्ष संस्कृति संरक्षण, वातावरण सरसफाइ र पर्यटनको क्षेत्रमा उल्लेख्य कार्य गरेको बताउँदै नगर प्रमुख श्रेष्ठले नगरपालिकाले नगरभित्रका सार्वजनिक जग्गा संरक्षण गरी बहुउपयोगी बनाउने योजना अनुरूप कार्य अगाडि बढाएको जानकारी दिए । नगरवासीलाई निःशुल्क शिक्षा, स्वास्थ्य उपलब्ध गराउने प्रमुख प्राथमिकता रहेको बताउँदै पूर्वाधार विकासमा पनि नगरपालिकाले विशेष योजनाका साथ कार्य गरिरहेको प्रमुख श्रेष्ठले बताए ।