राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान तथा कवाज प्रदर्शन निरीक्षण गरेका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा उनले सुरक्षा परिवेश गतिशील, बहुआयामिक र चुनौतीपूर्ण भएको बेला नेपालको राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता रहेको बताए ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाका साथै विपद् जोखिम न्यूनीकरण र शान्ति सेनाका माध्यमबाट सेनाले दिएको योगदानको सराहना गरे । त्यस अवसरमा उनले उत्कृष्ट पदिक र अधिकृतलाई पुरस्कारस्वरुप खुकुरी प्रदान गरेका थिए । कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी थिए ।