कुवेतमाथि नेपालको कीर्तिमानी जित

काठमाडौं ।  कुवेतमाथि कीर्तिमानी जित निकाल्दै नेपालले हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । बिहीबार भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको हो । कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । यो नेपालले टी-२०आईमा लक्ष्य पूरा गर्दा बनाएको उच्च योगफल हो । यसअघि नेपालले मलेसियासँग १६६ रनको लक्ष्य पूरा गरेको सबैभन्दा उच्च सफल चेज थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८१ तथा आसिफ शेखले ५३ रन बनाए । यी दुई मिलेर पहिलो विकेटका लागि १२७ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । यो साझेदारी पनि नेपालको टी-२०आईमा सबैभन्दा उच्च ओपनिङ साझेदारी हो । यसअघि सन् २०२१ मा नेदरल्याण्ड्ससँग नेपालले ११६ रनको ओपनिङ साझेदारी गरेको थियो । दिपेन्द्रसिंह ऐरीले १२ बलमा ३१ रनको क्यामिओ पारी खेल्दै फिनिसिङमा मद्दत गरे । कुवेतका यासिन पटेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए । मोहम्मद सफीक र मोहम्मद असलमले १-१ विकेट लिए ।

खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले नेपाललाई १८६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनायो । कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भावसरले ३५ तथा बिलाल ताहिरले ३२ रन बनाए । रविजा सन्दरुवानले २६ रन बनाए ।

राम्रो सुरुवात गर्दै १० ओभरभित्रै ९७ रन जोडेको कुवेतले २०० बनाउने संकेत देखाएपनि त्यसपछि नियमित अन्तरालमा विकेट गुमाउँदा २०० को आँकडा भने छुन सकेन । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिँदा नन्दन यादवले २ तथा ललित राजवंशी र कुशल भुर्तेलले १-१ विकेट हात पारे । लगातार दोस्रो जित निकालेको नेपालले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । हङकङ, नेपाल, कतार र कुवेत सहभागी यस प्रतियोगितामा बुधबार नेपालले कतार तथा कुवेतले हङकङलाई पराजित गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर