शेख हसिनाको दावी : “बंगलादेशकी प्रधानमन्त्री मै हुँ”

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले मोहम्मद युनुसलाई बंगलादेशको शासन सत्ता चलाउने कुनै संवैधानिक व्यवस्था नभएको बताएकी छन्। मंगलबार आफ्नो पार्टी अवामी लिगका कार्यकर्ता र समर्थकहरूलाई अनलाइन सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
उनले भनिन्, ‘उनीहरूले यो सोच्नु हुँदैन कि म सबै कुरा छोडेर देश छोडेर गएँ। संविधान अनुसार, जनताको निर्वाचित प्रतिनिधि र संसद सदस्यहरूको छनोट गरिएको उम्मेदवारको रूपमा, म बंगलादेशको प्रधानमन्त्री हुँ। उनीहरूको शक्ति (मुहम्मद युनुसको अन्तरिम सरकार) को कुनै वैधता छैन।’
यस क्रममा हसिनाले बंगलादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाउने मागको विरोध गरिन्। उनी अहिले भारतमा छिन्। गत वर्ष बंगलादेशमा भएको हिंसात्मक विद्यार्थी आन्दोलनपछि हसिना अगस्टमा भारत आएकी थिइन्। त्यसबेलादेखि बंगलादेशले उनको सुपुर्दगीको माग गर्दै आएको छ। यसअघि पनि शेख हसिनाले अनलाइन माध्यमबाट आफ्ना पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आएकी छिन्।
हसिनाले के भनिन्?
शेख हसिनाले आफ्नो सम्बोधनमा बंगबंधु शेख मुजीबुर रहमानले अवामी लिग मार्फत बंगालका जनतालाई एकताबद्ध गरेको र देशमा स्वतन्त्रता ल्याएको कुरा कसैले पनि भुल्न नहुने बताइन्।
हसिनाले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुससँग देश चलाउने कुनै संवैधानिक आधार वा जनादेश छैन। शेख हसिनाले मोहम्मद युनुसले विदेशी कोष प्रयोग गरेर ‘सुव्यवस्थित योजना’ मार्फत सत्ता प्राप्त गरेको आरोप लगाइन्।
शेख हसिनाले बंगलादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाउन माग गर्नेहरूका बारेमा पनि बयान दिएकी छिन्। हसिनाले यस्ता माग गर्नेहरूको साहसले आफूलाई अचम्मित पार्ने उनको भनाइ छ। शेख हसिनाको भाषणको सन्दर्भमा बंगलादेशको सरकारी तहबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।