विगत दुई सातादेखि काठमाडौंको हावा प्रदूषित

काठमाडौं । वायु प्रदूषित शहरको पहिचान बनाएको काठमाडौं उपत्यकाको अवस्था आज मंगलबारका दिनमा पनि सुधार आएको छैन । आज मंगलबार बिहान ७ः४५ मा काठमाडौंको वायु गुणस्तर २६१ एक्यूआई (एअर क्वालिटी इन्डेक्स) थियो । जुन बढेर ८ः४५ मा २७९ एक्यूआई पुगेको छ । यो भनेको वायु गुणस्तरको ‘निकै अस्वस्थ’ तह हो ।
यसैगरी १८४ एक्यूआई अंकसहित विश्वकै दोस्रो प्रदूषित शहर भारतको दिल्ली बनेको छ । तेस्रो प्रदूषित शहर भने पाकिस्तानको राजधानी लाहोर रहेको छ । लाहोरको १८१ एक्यूआई रहेको छ ।
दुई सातादेखि काठमाडौंको हावा प्रदूषित भइरहेको छ । वातावरण तथा प्रदूषण विद्हरूका अनुसार २०७७ सालपछिको काठमाडौंको हावा लगातार प्रदूषित भएको हो । यसमा सरकारले वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरण गर्न वातावरण विभागले अनुरोध गरेको छ । यसका लागि विभागले घरायसी ठोस फोहोर नबाल्न, कृषि अवशेष नजलाउन, उद्योगमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यबाट उड्ने धुलो नियन्त्रण गर्न अनुरोध गरेको छ ।