खराब ब्याटिङले गर्दा सनराइजर्स हैदरावादको चौंथो हार

काठमाडौं । खराब ब्याटिङले निरन्तरता पाउँदा सनराइजर्स हैदरावादले इण्डियन प्रिमियर लिग (आईपीएल ) मा लगातार चौंथो हार व्यहोरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा हैदरावाद गुजरात टाइटन्ससँग ७ विकेटले स्तब्ध भएको हो ।
हैदरावादले जितका लागि दिएको १५३ रनको लक्ष्य गुजरातले १६.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा कप्तान शुभमन गिलले अविजित ६१ रन बनाए । यसैगरी वाशिंगटन सुन्दरले ४९ रन जोड्दा शेरफान रुदर फोर्ड ३५ रनमा अविजित रहे । हैदरावादका लागि मोहम्मद सामीले २ विकेट तथा कप्तान प्याट कमिन्सले १ विकेट लिए।
त्यसअघि राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन मात्रै
जोडेको थियो । हैदरावादका लागि नितिश कुमार रेड्डीले सर्वाधिक ३१ रन जोडे । ओपनर ट्राभिस हेडको ब्याटिङ नचलेको यस दिनमा अर्का ओपनर अभिषेक शर्मा पनि १८ रनमै समेटिए । यसैगरी हेईनरिच क्लासेनले २७ रन, इशान किशनले १७, कप्तान पाट कमिन्सले अविजित २२ रन बनाएका थिए ।
बलिङमा मोहम्मद शिराज एक्लैले ४ विकेट लिए। प्रसिद्ध कृष्ण र साई किशोरले समान २ विकेट झारे। यो हारसँगै हैदरावाद ५ खेलमा लगातार चौंथो हार व्यहोर्दै तालिकाको पुछारमा छ । यता ४ खेलमा गुजरातको यो तेस्रो जित हो। दोस्रो स्थानमा रहेको उसले ६ अंक जोडेको छ।