राजावादी र गणतन्त्रवादीको शान्तिपूर्ण प्रदर्शन सुरु

काठमाडौं । सङ्घीय राजधानी काठमाडौं उपत्यकामा आज भइरहेको फरक–फरक दुई राजनीतिक प्रदर्शनलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ । काठमाडौंका विभिन्न स्थानमा हुने जुलुस र सभास्थलको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । उपत्यकाका प्रमुख चोकहरुमा प्रहरीको बाक्लो तैनाथ छ भने भैपरी आउने परिस्थितिका लागि आवश्यक सङ्ख्यामा प्रहरी तम्तयार रहेको उनले बताए ।

उपत्यकामा आज समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा काठमाडौं प्रदर्शनीमार्गमा खबरदारी सभा गर्दैछ । त्यसैगरी राजतन्त्र पक्षधरले कोटेश्वर– तीनकुनेमा प्रदर्शन गरिहेका छन् । दुवै प्रदर्शनअघि उपत्यकाका विभिन्न स्थानबाट सुरु भएर र्‍याली जुलुसहरु तोकिएका स्थानमा जम्मा हुने क्रम जारी छ । दुवै समूहको प्रदर्शनले दैनिकीमा अवरोध हुने ठानी सर्वसाधारण सचेत भएर गन्तव्यतर्फ हिँडिरहेका देखिन्छन् । तीनकुनेमा राजावादीहरूको प्रदर्शन सुरु भएको छ । राष्ट्रिय झन्डा र राजा अंकित तस्बिर बोकेर प्रदर्शनकारीहरू तीनकुनेमा भेला भइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर