भोलिको प्रदर्शन शान्तिपूर्ण गर्न मानवअधिकार आयोगको अपिल

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरु राखेर प्रदर्शन गर्दा र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा शान्तिपूर्ण तरिकाले गरेको छ ।
आयोगले समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र सङ्गठनहरुले शुक्रबार उपत्यकामा शक्ति प्रदर्शनको तयारी गरेकोप्रति ध्यानाकर्षण जनाउँदै उक्त अपिल गरेको हो ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तरराष्ट्रिय कानुनमा उल्लिखित प्रावधानको पालनामा संवेदनशील हुन भनिएको छ ।
‘अरूको अधिकारमा बाधा पर्नेतर्फ सचेत रहन र आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनरत पक्षलाई अपिल गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘उत्पन्न परिस्थितिको आकलन गर्दै शान्तिसुरक्षाको व्यवस्था मिलाउँदा मानव अधिकारप्रति संवेदनशील हुन आयोग नेपाल सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीलाई आग्रह गर्दछ ।’ आयोगले प्रदर्शनीका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्तिसुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले चासो व्यक्त समेत गरेको छ ।
अष्ट्रेलियन राजदूतावासको ट्राभल एड्भाइजरी
नेपालस्थित अष्ट्रेलियन राजदूतावासले ट्राभल एड्भाइजरी जारी गर्दै आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको छ । दूतावासले आफ्ना नागरिकलाई आवतजावतमा ध्यान दिन अनुरोध गरेको छ ।