निर्माणमा भ्रष्टाचार भएको गलत भए आफूलाई जेल हाल्न चुनौती

काठमाडौं । काठमाडौं महानगरले काठमाडौं टावरको भवन भत्काउने तयारी गरेको छ। टावरको नक्सा पासको विषयमा विवाद उत्कर्षमा पुगेका बेला महानगरका मेयर बालेन साहको सचिवालयले भवन भत्काउनुपर्ने अवस्था सिर्जना हुन लागेको जनाएको छ । मेयर साहका प्रमुख स्वकीय सचिव भूपदेव साहले सरकारले काठमाडौं टावरको भवन भत्काउन बाध्य बनाएको बताए ।
उनले भने, “सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर महानगरमा नाकाबन्दी लगाएको छ। यसले गर्दा महानगरको काम नै ठप्प भएको छ। काठमाडौं टावरको नक्सा पासको विषयलाई लिएर सरकारले यो अवस्था सिर्जना गर्नु भनेको यसमा सरकारको पनि मिलेमतो छ भन्ने हाम्रो निष्कर्ष हो। यसमा कस्को ? कस्को ? संलग्नता छ त्यो बाहिर ल्याउन हामीले टावर भत्काउने तयारी गरिरहेका छौँ।”
उनले पिपिए मोडलको संरचना निर्माणको अध्ययन गर्न समिति बनेको र उक्त समितिले दिएको सुझावअनुसार अगाडि बढ्ने बताए। समितिले टावरको बारेमा अध्ययन गरिरहेको र छिट्टै नै प्रतिवेदन आउने पनि उनले बताए। हिजो मंगलबार मात्र महानगरका मेयर बालेनले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै टावरको निर्माणमा भ्रष्टाचार भएको आरोप लगाएका थिए । उनले टावरको निर्माणमा भ्रष्टाचार भएको गलत भए आफूलाई जेल हाल्नसमेत चुनौती दिएका थिए।