भूमिसम्बन्धी अध्यादेशलाई विधेयकका रूपमा अघि बढाउने निर्णय

काठमाडौं । सत्तापक्षको आज बुधबार बालुटारमा बसेको बैठकले भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको छ । बैठकले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
यसअघि सरकारले संसद अधिवेशन नभएको बेला ल्याएका विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । त्यसमध्ये पाँच अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा संसद्ले स्वीकृत गरेर छलफलका क्रममा छन् । राष्ट्रियसभामा निर्णायक रहेको जसपा नेपाल भूमि अध्यादेशको विपक्षमा उभिएपछि सरकार पछि हटेको थियो ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राईलगायतका नेताहरू सहभागी थिए ।