इपिजीको प्रतिवेदन दुवै पक्षको समझदारीमार्फत बुझ्न सरकार प्रयत्नशील

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन दुवै पक्षको समझदारीमार्फत बुझ्न सरकार प्रयत्नशील रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका क्रममा उनले इपिजी प्रतिवेदन दुवै देशको समझदारी र सहमतिमा बुझ्ने बताएका हुन् । सांसद बुद्धिमान तामाङको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले इपिजी प्रतिवेदन बुझ्ने सम्बन्धमा यसअघिका भेटघाटमा मित्रराष्ट्र भारत सरकारको उच्च तहमा यो विषय उठाइएको पनि जानकारी दिए । उनले अन्य सन्दर्भमा कूटनीतिक पहल भइरहेका बताए ।

प्रधानमन्त्री ओलीले इपिजी समूहले नै सुरुमा भारतका प्रधानमन्त्रीलाई र त्यसपछि मात्र नेपालका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने समझदारी भएको जानकारी दिए । समझदारीबाट नै समाधान खोजिने भन्दै उनले त्यसले औँल्याउने समस्या एकतर्फले बुझेर र एकतर्फ मात्र कार्यान्वयन गरेर नहुने विषय भएको बताए । ‘समझदारीमार्फत दुवै पक्षबाट यो प्रतिवेदन बुझ्नेतिर हामी लाग्नेछौँ,’ प्रधानमन्त्री ओलीले भने ।

नेपालको चुच्चे नक्साको विषयमा जवाफ दिँदै उनले इस्वी संवत् १९६२ अघिसम्म नेपालको अधीनमा रहेको भू-भागको नक्सा हाल कायम रहेको नक्सा नै यथार्थ भएको बताए । ‘विसं २०१७ अघिसम्म देशको नक्सा अहिलेकै जस्तो थियो, त्यसपछि फेरियो । २०७७ असार ४ गते संविधानको दोस्रो संशोधनमार्फत संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छाप अद्यावधिक गरियो,’ प्रधानमन्त्री ओलीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर