भाटभटेनीको ट्रकबाट अवैध विद्युतीय चुरोट भेप बरामद

काठमाडौं । भाटभटेनी सुपर मार्केटको सामान ल्याइएको ट्रक (डिब्बा) मा भन्सार जाँच पास नगराई अवैध रूपमा ल्याइएको विद्युतीय सिगरेट फेला परेको छ । सिन्धुपाल्चोक इलाका प्रहरी कार्यालय बाह्रबिसेले अस्ति मङ्गलबार राति ७ सय ४० थान विद्युतीय सिगरेट बरामद गरेको हो ।

प्रहरी चेकपोस्ट खुर्सानीबरीमा मङ्गलबार राति खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा तातोपानी भन्सारबाट भाटभटेनीको सामान बोकी काठमाडौंतर्फ जाँदै गरेको मालवाहक डिब्बामा विद्युतीय सिगरेट ‘भेप’ बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ना. ६ ख ५४९६ नम्बरको डिब्बा गाडीबाट ९३ डब्बा भेप बरामद भएको छ । ९३ डब्बामा ७ सय ४० वटा विद्युतीय सिगरेट फेला परेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुमेह पाण्डेले जानकारी दिए ।

बरामद भएको सामग्रीको अन्दाजी मूल्य २२ लाख २० हजार रुपैयाँ रहेको छ । बरामद भएका सामग्रीसहित चालक भोटेकोसी गाउँपालिका–२ का प्रवीण खत्री र डिब्बा ट्रक नियन्त्रणमा लिई राजस्व कार्यालय हरिहर भवनमा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर