पक्षाघात (स्ट्रोक) को औषधी निःशुल्क वितरण गरिने

काठमाडौं ।  अमेरिकी च्यारिटी संस्था डाइरेक्ट रिलिफमार्फत नेपाललाई प्राप्त हुने पक्षाघात (स्ट्रोक) का बिरामीका लागि निःशुल्क औषधी आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पक्षाघातका बिरामीका लागि महँगो र दुर्लभ औषधी नेपाल आइपुगेको जानकारी दिए । डाइरेक्ट रिलिफले पहिलो चरणमा ८०० भाइल ‘अल्टिप्लेस रिकम्बिनेन्ट २० मिलिग्राम” औषधी नेपाल पठाएको हो ।

उनले मन्त्रालयले मापदण्ड बनाएर औषधी वितरण गर्ने जानकारी दिँदै पहिलो चरणमा वीर अस्पताललगायतका सरकारी र दोस्रो प्राथमिकतामा निजी अस्पतालमा वितरण गरिने बताए । उनले एक हप्ताभित्रमा औषधी वितरण गरिने जानकारी दिँदै पक्षाघातका बिरामी मन्त्रालयमा डेलिगेसन आएकाले मन्त्रालयले अमेरिकी संस्थासँग माग गरेको बताए ।

औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान जोगिने उनको भनाइ छ । उनले नेपालमा सहजै उपलब्ध हुनसमेत गाह्रो हुने सो औषधीको एक मात्राको मूल्य नेपालमा झन्डै एक लाख ६० हजार पर्ने बताए । सरकारी अस्पतालमा उपचाररत बिरामीका लागि निःशुल्क औषधी उपलब्ध गराउन दुई महिनाअघि गत ४ माघमा स्वास्थ्य मन्त्रालय र डाइरेक्ट रिलिफबिच सम्झौता भएको थियो । सोही अनुसार अहिले औषधी आएको हो ।

नेपालका न्युरो फिजिसियनसहितका विज्ञले दिएको सुझावअनुसार औषधी आएको भन्दै उपचारमा संलग्न चिकित्सक र उपचार विवरणअनुसार एक वर्षमा करिब आठ सय भायल भए पुग्ने देखिएकाले वर्ष दिनलाई पुग्ने गरी पहिलो पटक औषधी आएको हो । डा. बुढाथोकीले पाँच वर्षसम्म निःशुल्क औषधी उपलब्ध हुने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर