शैक्षिक परामर्शको नाममा प्रलोभन नदेखाउन निर्देशन

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्शको नाममा सेवाग्राहीलाई अनावश्यक प्रलोभन नदेखाउन निर्देशन दिएको छ । मन्त्रालयले १२ बुँदे निर्देशन जारी गर्दै यसबारे सचेत रहन परामर्शदातृ संस्था, विद्यार्थी तथा अभिभावकलाई अनुरोध गरेको छ । मन्त्रालयले जारी गरेको निर्देशनको १२ बुँदामध्ये आठ वटा शैक्षिक परामर्शदातृ व्यवसायसँग सम्बन्धित छ भने चार वटा बुँदा विद्यार्थी तथा अभिभावकसँग सम्बन्धित छन् ।

वैदेशिक शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदा फ्री भिसा, रोजगारीको ग्यारेन्टी, डिपेन्डेन्ट भिसा उपलब्ध गराइनेलगायतका प्रलोभन नदेखाउन परामर्श व्यवसायीलाई भनेको छ । परामर्शदातृ निकायले सेवाग्राहीलाई प्रलोभन दिने गरेको गुनासो आइरहेको थियो ।

परामर्शदातृ व्यवसायीलाई दिइएको निर्देशनमा अनुमति नलिई शैक्षिक मेला, भेला तथा शैक्षिक प्रदर्शनी नगर्न पनि मन्त्रालयले भनेको छ । मन्त्रालयले अभिलेखमा कायम नरहेका विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा अभिलेखीकरणसम्बन्धी प्रक्रिया पूरा नगरी विद्यार्थीलाई अध्ययनका लागि सिफारिस नगर्न पनि परामर्श सेवाप्रदायकलाई निर्देशन दिएको छ ।

साथै वैदेशिक शैक्षिक परामर्शका लागि अनुमति पाएका संस्थाबाट मात्र परामर्शसम्बन्धी सेवा लिन तथा यस्तो संस्था मन्त्रालयबाट स्वीकृत प्राप्त हो वा होइन भन्ने विषयमा यकिन गर्न पनि विद्यार्थी तथा अभिभावकलाई अनुरोध गरेको छ । मन्त्रालयले जारी गरेको सूचनामा कुनै पनि संस्था कानुनसम्मत स्थापना नभएको र सम्बन्धित मन्त्रालयबाट सेवा प्रदानको अनुमति लिएको रहेनछ भने स्थानीय प्रशासन र प्रहरीलाई जानकारी गराई सहयोग गर्न पनि अनुरोध गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर