नेकपा एसको आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) ले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समाजवादीले सुशासन र रोजगारी समाजवादको तयारीका लागि भन्दै पहिलो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो।
चैत्र २ देखि ६ गतेसम्म मातहत कमिटीहरूमा छलफल गर्ने र चैत्र ७ देखि १५ गतेसम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–संगठन तथा व्यक्तिसँग सम्वाद तथा सुझाव संकलन गर्ने नेकपा एकीकृत समाजवादीमा महासचिव एवं केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजक घनश्याम भूसालले जानकारी दिए।
आन्दोलनका कार्यक्रमअन्तर्गत चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने, चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने र बैशाख २२ गतेसम्म प्रदेश र स्थानीय पालीमा ज्ञापनपत्र पेश गर्ने लगाएका रहेको उनले बताए। पहिलो चरणको आन्दोलन सकिएपछि वैशाख २५ गते दोश्रो चरणको दवावमूलक कार्यक्रम सार्वजनिक गर्ने समाजवादीले जनाएको छ। महासचिव भूसालले राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड–घटाउबाट मुक्त गर्न पार्टीले आन्दोलन सुरु गरेको जानकारी दिए। आन्दोलनले राष्ट्रका लागि आजको एजेण्डा स्थापित गर्ने र मुलुकको राजनीतिलाई नयाँ दिशा दिने उनले दाबी गरे।
महासचिव भूसालले अहिले सरकारी प्रशासन, न्यायिक क्षेत्र र राजनीतिमा भ्रष्टाचार व्याप्त रहेको आरोप लगाए। उनले सत्ताधारी नालायक र अनुत्तरदायी भएका कारण सडक अराजक र पपुलिष्ट हुँदै गएको भन्दै यस अवस्थामा देशका जिम्मेवार राजनीतिक पार्टी र नागरिक समुदायले गम्भीर आत्म समीक्षा गर्दै एउटा नयाँ पहलकदमीद्वारा हस्तक्षेप गर्नुपर्ने बताए।
उनले अहिलेसम्म सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानविन गर्न संवैधानिक तथा कानुनी प्रबन्धका साथ एउटा शक्तिशाली सम्पत्ति छानविन आयोग गठन गर्नुपर्ने माग रहेको जानकारी दिए। भूसालले संविधान संशोधनको मुद्दा उठाएर जानीजानी मुलुकलाई डरलाग्दो अन्योल ढकेल्ने प्रयास भएको जिकिर गरे। संविधान कार्यान्वयनका दश वर्षको पुनरावलोकन गरेरमात्रै संशोधनको छलफल गर्नुपर्ने उनले बताए। समाजवादीले रोजगारी र सुशासनका लागि सरकारले यथाशीघ्र राष्ट्रिय सम्मेलन आह्वान गर्नुपर्नेमा समेत जोड दिए।