आज अल्पसंख्यक थकाली समुदायको तोरन ल्ह पर्व

काठमाडौं । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक थकाली समुदायले आजदेखि तोरन ल्ह (फागु पूर्णिमा) पर्व मनाउन सुरु गरेका छन् । नेपालका विभिन्न क्षेत्रमा ११ हजारको संख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागु पूर्णिमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । फागु पूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताए ।
‘तीन दिन सबैरे उठेर शुद्ध भई पितृहरुलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनु पर्छ’, उनले भने, ‘आफन्तलाई बोलाएर मीठामीठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।’ मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ । घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ ।
तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकालीहरु आफ्नो जन्मथलो फर्किएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिँगारपटार गरेका छन् । तोरन्ल्ह पर्वको अवसरमा थकाली समुदायका पुरुषहरु परम्परागत तारो हान्ने खेल खेलेर रमाइलो गर्दछन् । महिलाहरु भने मौलिक वेशभूषामा सजिएर नाचगान गर्ने, गोटा खेल्ने र शुभकामना साटासाटा गरेर तोरन्ह मनाउँछन् ।