काठमाडौं उपत्यकामा मर्यादित भएर होली पर्व मनाउन अनुरोध

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला (काठमाडौं,  ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर होली पर्व मनाउन सबैमा अनुरोध गरेका छन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले उच्छृङ्खल र तडकभडक नभई शान्तिपूर्ण रूपमा पर्व मनाउन सबैमा अनुरोध गरे । उनले एक सूचना जारी गर्दै भने, “सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ ।

तसर्थ, चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झै-झगडा, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल, कसैको इच्छाविपरीत रङ एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने काम नगर्न र अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यानसमेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न-नगराउन सबैमा अनुरोध छ भन्ने कुरा सूचनामा उल्लेख गरिएको छ ।

आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन नहुने गरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन सहायक प्रजिअ पौडेलले अनुरोध गरेका छन् । यस्तै, ललितपुर र भक्तपुर प्रशासनले पनि आजै छुट्टाछुट्टै सूचना जारी गरी होली पर्व शान्तिपूर्ण र संस्कृतिअनुसार सभ्य भएर मनाउन आग्रह गरेका छन् । यही फागुन २९ गते पहाडमा र चैत १ गते तराईमा होली पर्व मनाइँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर