पाकिस्तानमा रेल अपहृत : १० जनाको हत्या

काठमाडौं । पाकिस्तानको बलुचिस्तान क्षेत्रमा सशस्त्र लडाकु समूहले सयौँ यात्रु बोकेको रेल अपहरण गरी कम्तीमा १० जनाको हत्या गरेको रेल्वे अधिकारीहरूले जनाएका छन् । सीएनएनका अनुसार मारिएका दशमध्ये नौ जना सुरक्षाकर्मी रहेको वरिष्ठ रेल्वे अधिकारी इमरान हयातले जानकारी दिएका छन् । साथै, एकजना रेल चालकको पनि आक्रमणमा मृत्यु भएको छ ।
बलुचिस्तान सरकारका प्रवक्ताका अनुसार ‘भीषण गोली हानाहान’ भएको र लडाकुहरूले महिला र बच्चाहरूलाई ढालको रूपमा प्रयोग गरिरहेका छन् । पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानको क्वेट्टाबाट पेशावर शहर जाँदै गरेको जाफर एक्सप्रेसका रूपमा चिनिने उक्त रेललाई लडाकुहरूले मंगलबार दिउँसो एउटा सुरुङमा पुगेपछि नियन्त्रणमा लिएका थिए ।
स्थानीय समयअनुसार बिहान ९ बजे क्वेट्टाबाट प्रस्थान गरेको उक्त रेलमा नौ वटा डिब्बामा करिब ४५० यात्रुहरू सवार थिए । दक्षिण-पश्चिम पाकिस्तानमा बढ्दो हिंसाको कारकका रूपमा बीएलए पृथकतावादी समूह रहेको छ । यसैबीच रेलमा रहेका ४ सय ५० भन्दा बढी यात्रुलाई बन्दुकधारीहरूले बन्धक बनाएको तीनमध्ये एक जनालाई मुक्त गरेको बताइएको छ । अझै पनि सो रेलमा ३ सय ५० जनाभन्दा बढी यात्रु विद्रोही समूहको नियन्त्रणमा रहेका छन् ।
बन्धक बनाइएका यात्रुमा महिला र बालबालिका समेत रहेका छन् । आक्रमणको जिम्मेवारी बलुच लिबरेशन आर्मी (बीएलए) ले लिएको थियो । बन्दुकधारीहरूले रेलमा आक्रमण गर्नुअघि रेलवे ट्र्याकमा बम विस्फोट गराएको बताइएको छ ।