रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने ट्रम्पको धम्की, अमेरिका र युक्रेनबीच अर्को हप्ता वार्ता

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेनमा बमबारी गरेकोमा रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने धम्की दिएका छन् । “रूसले अहिले युद्धभूमिमा युक्रेनलाई पूर्ण रूपमा आक्रमण गरिरहेको छ । म युद्धविराम र शान्ति सम्झौतामा पुग्न नसकेसम्म रूसमाथि ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध, नाकाबन्दी लगाउने बारेमा दृढतापूर्वक विचार गरिरहेको छु,” ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा उल्लेख गरे ।
“रूस र युक्रेन, अब वार्ताको टेबलमा आउनुहोस्,” उनले लेखे । ट्रम्पको धम्की यस्तो समयमा आएको हो, जब रुसले शुक्रबार युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो ड्रोन र मिसाइल आक्रमण गरेको थियो । केही दिनअघि राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको विवादपछि ट्रम्प प्रशासनले युक्रेनसँग अमेरिकी सैन्य सहायता वितरण र गुप्तचर आदान प्रदानमा रोक लगाएको थियो ।
नेशनल इकोनोमिक काउन्सिलका निर्देशक केभिन ह्यासेटले ट्रम्पको धम्की कूटनीतिक रणनीतिको हिस्सा भएको बताए । “राष्ट्रपति ट्रम्प अडिग छन् कि हामीले सबैलाई टेबुलमा ल्याउनुपर्छ । उहाँले सबैसँग कुरा गर्दै हुनुहुन्छ,” ह्यासेटले पत्रकारहरूलाई बताए ।
अमेरिका र युक्रेनबीच साउदी अरेबियामा अर्को हप्ता वार्ता
साउदी अरेबियाले आगामी हप्ता युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलबीच पश्चिमी बन्दरगाह शहर जेद्दामा बैठक हुने पुष्टि गरेको छ। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोष्ट गरिएको एक विज्ञप्तिमा साउदी विदेश मन्त्रालयले आगामी बैठकको मिति र विषयवस्तु निर्दिष्ट नगरी युक्रेनी संकट अन्त्य गर्न तथा दिगो शान्ति प्राप्त गर्न राज्यको निरन्तर प्रयास उल्लेख गरेको छ।
यसअघि शुक्रबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै किभमा रहेको युएनएन समाचार एजेन्सीले युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलले अर्को हप्ता साउदी अरेबियामा शान्ति वार्ताका लागि भेट्ने अपेक्षा गरेको बताएको थियो। ‘सोमबार, म युवराज (मोहम्मद बिन सलमान) सँग भेट्न साउदी अरेबियाको यात्रा गर्नेछु । त्यसपछि, मेरो टोली हाम्रा अमेरिकी साझेदारहरूसँग वार्ता गर्न साउदी अरेबियामा रहनेछ’, जेलेन्स्कीले बताए।