ग्यासमा कमिसन बढ्यो, उपभोक्तालाई भार पर्दैन : निगम

काठमाडौं ।  नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीबिच प्रति सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहमति भएको हो । कमिसन वृद्धि गर्ने सहमति भएसँगै ग्यास उद्योगीको आन्दोलन स्थगित भएको छ ।

उद्योगीको कमिसन बढाएको मूल्यबाट उपभोक्तालाई भार नपर्ने नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बजारमा ग्यासको उपभोक्ता मूल्य एक हजार ९१० रुपैयाँ कायम रहने र उद्योगीलाई बढाएको मूल्य ग्यासमा भएको घाटामा जोडिने जानकारी दिए । ग्यास उद्योगको बाह्य ढुवानी, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साबिकको खर्चमा प्रतिसिलिन्डर १२.७५ पैसा वृद्धि गरिएको उनले जानकारी दिए ।

उद्योगीले चाहिँ लामो समयदेखि ग्यासमा कमिसन वृद्धि नहुँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै प्रति सिलिन्डर ५० रुपैयाँ बढाउन माग गरेका थिए । सङ्घले ओभरहेड र नाफा रकम वृद्धिलगायतका १९ बुँदे माग राखेर गत आइतबारदेखि भारतबाट ग्यास ल्याउने खरिद आदेश (पिडियो) बन्द गरेर आन्दोलन गरेको थियो ।

उद्योगीले घोषणा गरेका आन्दोलनले बजारमा उपभोक्ताले सहजरूपबाट ग्यास पाउन सकेका थिएनन् । ग्यास बिक्रेता महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा अभाव हुन सक्ने आशङ्कामा खपत बढ्दा पनि ग्यासको अभाव देखिएको बताए । पछिल्लो समय उपभोक्ताले ग्यास पाउन लामो समय कुर्नुपरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर