चिकित्सक र नर्सहरुको श्रम ऐन अनुसार पारिश्रमिक दिने तयारी : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरुलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमिक दिनेगरी सरकारले काम अघि बढाइरहेको बताएका छन् ।
मंगलवार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा योजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।
स्वास्थ्यमन्त्री पौडेलले एकै पटक लोकसेवा आयोगबाट ५ सय चिकित्सक लिनका लागि मन्त्रीपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिइसकेको बताउँदै भने चिकित्सक र नर्सहरुको पारिश्रमिक सरकारी पनि बढाउने र निजीमा पनि बढाउन आग्रह गर्नेगरी सरकार अघि बढिरहेको छ ।
श्रम ऐनले तोकेको पारिश्रमिक कम्तिमा उपलब्ध गराउनैपर्ने व्यवस्था कडाइका साथ लागू गर्नेगरी सरकार अघि बढिरहेको मन्त्री पौडेलले बताए । चिकित्कसहरुको दैनिकी गुजारा गर्ने स्थिति मात्रै निर्माण गर्नसके विदेश जाने जनशक्ति कम हुने विश्वास व्यक्त गरे । चिकित्सकलाई दबाब मुक्त भएर काम गर्ने स्थिति निर्माण गर्न सरकारले कानूनी प्रवन्धहरु अघि बढाइरहेको उनले बताए ।