भूमिसम्बन्धी अध्यादेश फिर्ता लिँदै सरकार

काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि भूमिसम्बन्धी अध्यादेश छाडेर अन्य पाँच अध्यादेशको प्रतिनिधिसभामा स्वीकृत गराउने जानकारी दिए। सत्तापक्षका केही दलको साथ नपाएपछि भूमिसम्बन्धी अध्यादेशमा सरकार पछि हटेको हो। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको छलफलपछि नै अन्य पाँच अध्यादेश अघि बढाउने निर्णय गरिएको बर्तौलाले बताए।
“भोलि प्रतिनिधिसभा बैठक बस्दै छ। आज कार्यव्यवस्था परामर्श समितिको बैठकमा यो विषय कार्यसूचीमा राख्ने तयारी गरेका छौँ”, बर्तौलाले भने। जसपा नेपालको आइतबारबाट जारी केन्द्रीय कमिटी बैठकमा पनि भूमिसम्बन्धी अध्यादेश कुनैपनि हालतमा स्वीकार्न सक्ने अवस्था नभएको प्रतिक्रिया दिएपछि सत्तारुढ लोसपा पनि यस अध्यादेशमा सहमत नभएपछि सरकार पछि हट्न बाध्य भएको हो।