रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापालाई अमेरिकाका विमानस्थलमा गत साता स्थानीय प्रहरीले पक्राउ गरेको छ। फेडरल ब्यूरो अफ इन्टेलिजेन्स (एफबीआई) का अधिकारीहरूले उनलाई पक्राउ गरेको हो। पक्राउको कारण खुलेको छैन। थापा अमेरिकाको ग्रिन कार्ड होल्डर भएको बुझिएको छ ।
एक समाचार सूत्रका अनुसार उनलाई नेपालस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले इन्टरपोलमा गरेको पत्राचारका आधारमा पक्राउ गरिएको हो। तर, यसको स्वतन्त्र पुष्टि सीआईबीले गरिसकेको छैन।
रास्वपाका तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि २ करोड मागेको कोर टिमका सदस्य तथा पूर्वमहामन्त्री मुकुल ढकालले नाम नै किटान गरेको व्यक्ति थापा हुन् । उनले यसबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणमा कालोझन्डा देखाउने अभियानको नेतृत्व गरेका थिए । अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया एअरपोर्टबाटै उनलाई पक्राउ गरिएको बताइएको छ ।
एक सातासम्म नेपाल डिपोर्ट नगरिएका थापा अमेरिकी कानुन उल्लंघन र अपराध गरेका आधारमा पक्राउ गरिएको भन्ने प्रारम्भिक जानकारी आएको छ। अमेरिकास्थित गैरआवासीय नेपाली संघका एक पदाधिकारीका अनुसार उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको छ।