बीमाले तोकिएका औषधि अनिवार्य राख्न स्वास्थ्यमन्त्री पौडेलको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बीमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बीमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताए।

उनले भने, “अब पनि औषधि छैन भन्नु गैरकानुनी हो, तोकिएका औषधि अनिवार्य राख्नुपर्नेछ ।” सरकार तथा स्वास्थ्य बीमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ । तोकिएका औषधि अनिवार्य राख्न उनले आग्रह गरे । उनले चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको उनको भनाइ छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको उनको भनाइ छ ।

बीमाका केही व्यवस्थापनमा समस्या भए पनि यसलाई सुधार गर्न लागेको उनको भनाइ छ । जिल्ला अस्पतालको स्तरोन्नति गर्न स्वास्थ्य मन्त्रालयका काम अगाडि बढाउनेसमेत उले बताए ।

आधारभूत अस्पतालबाट चाँडै सेवा सञ्चालन हुने

यसैगरी मन्त्री प्रदीप पौडेलले स्थानीय तहमा निर्माण भएका आधारभूत अस्पतालबाट चाँडै सेवा सञ्चालन हुने बताए । देशका ५७ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण भइसकेको जानकारी दिँदै मन्त्री पौडेलले मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन गर्न छुट्टै नीति बनाइरहेको बताए । पाँचथरको फालेलुङ गाउँपालिकामा निर्माण भएको पाँच शय्याको आधारभूत अस्पतालको शनिबार उद्घाटन गर्दै मन्त्री पौडेलले नयाँ नीतिबमोजिम आधारभूत अस्पताल सञ्चालन हुने बताए ।

सबै आधारभूत अस्पतालमा जनशक्ति र उपकरणको अभाव रहेको बताउँदै मन्त्री पौडेलले यसका लागि विशेष व्यवस्था गरेर जनशक्ति र उपकरणको प्रबन्ध सरकारले गर्ने बताए । यसका लागि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरिरहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर