आजदेखि मुस्लिम धर्मावलम्बीको एक महिना रमजान सुरु

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजान आज आइतबारबाट प्रारम्भ भएको छ । धर्मग्रन्थ कुरान अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरुको पहिलो रोजा (व्रत) सुरु भएको हो, आज बिहानै सेहरी लिएर रोजाको सुरुवात भएको छ । यो एक महिनासम्म निरन्तर हुन्छ ।
रमजान महिना अवधिभर राति पढिने विशेष नमाज ‘तराबीह’ पनि मस्जिदहरुमा शनिवारदेखि सुरु भएको छ । इस्लाम क्यालेन्डर अनुसार शनिवार साबान महिनाको अन्तिम तीसौ दिनमा चन्द्रमा देखिएपछि हर्षोल्लासका साथ रमजानको सुरुवात गरेका छन् । कुरान अवतरण भएको खुसियालीमा इस्लाम धर्मावलम्बीहरुले एक महिने कठोर व्रत अर्थात् रोजा बस्ने गर्छन् । इस्लाम पात्रोका अनुसार हिजरी संवतको नवौँ महिनालाई रमजान भनिन्छ ।
एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले उपवास (व्रत) बस्ने गर्छन् जसलाई ‘रोजा’ पनि भनिन्छ । एक महिनाभरि बिहान सूर्य उदाएदेखि सूर्यास्त नहुँदासम्म प्रत्येक दिन पानी समेत नखाई व्रत बस्ने गर्छन् । सूर्य उदाउनुभन्दा लगभग दुई घण्टा अगाडि केही खानेकुरा (सेहरि) खार्ई सुरु गरिएको (व्रत) रोजा सूर्यास्त भइसकेपछि अफतारी (व्रत तोड्नु) गरी रोजा खोलिन्छ । रोजाको समयमा मुसलमान निराहार यहाँसम्मकी जानेर थुक पनि निल्नु हुँदैन ।
रोजा जस्तो कठिन व्रत गर्ने व्रतालुले यस महिनालाई पवित्र महिनाका रूपमा लिएको पाइन्छ । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । तीस दिनको यो रमजान महिनालाई तीन भागमा बाँडिएको छ । पहिलो १० दिनको अवधिलाई बरक्कत (फलिफलाप), दोस्रो १० दिनको अवधिलाई रहमत (दया–माया) र अन्तिम १० दिनको अवधिलाई मगफिरत (अल्लाहबाट माफी) पाउने मुसलमानले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन् ।