हल्का वर्षासँगै यसपटकको हिउँदयामले बिदा माग्यो

काठमाडौं । यस वर्षको हिउँद हल्का वर्षामै सीमित हुँदै सकिएको छ । हिउँदको अन्तिम दिन शुक्रबार हिउँदभरकै राम्रो वर्षा गराउँदै यो वर्षको हिउँदले बिदा लिएको छ । लामो समय देशको मध्यदेखि पूर्वी भूभागमा वर्षा हुन सकेको थिएन । सुदूरपश्चिम र कर्णाली भेगमा थोरै वर्षा भए पनि देशव्यापी हिउँदे वर्षाको छनक यो वर्ष राम्ररी पाउन नसकिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अन्तिम समयमा बल्ल देशका अधिकांश स्थानमा वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताइन् । गत मङ्सिर १५ देखि फागुन मध्यसम्मको अवस्थालाई हिउँदयाम मानिन्छ । हल्का वर्षासँगै यो वर्षको हिउँदले बिदा लिएको कँडेलले जानकारी दिइन् । हिउँदको सुरुवाती समयदेखि नै देशव्यापी रूपमा वर्षा नहुँदा सुक्खा चिसोसँगैको खडेरीको अवस्था सिर्जना भएको थियो । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा र हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कँडेलका अनुसार शुक्रबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहितको वर्षा भएको छ । त्यसयताका भूभागमा हल्कादेखि मध्यम वर्षा भएको उनले जानकारी दिइन् । कोशी, गण्डकी, बागमती र मधेश प्रदेशका अधिकांश भूभागमा पनि बदलीसहित वर्षा भएको छ ।
अधिकांश हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात भएको छ । लामो समयपछिको वर्षा र हिमपातका कारण पहाडी तथा हिमाली भेगका स्थानीयमा खुसी छाएको छ । हिउँदे बालीलाई अहिलेको वर्षाले राहत पु(याएको कृषि मौसमविद् रामेश्वर रिमालले जानकारी दिए । बिहीबार रातिदेखि राम्रो बदलीसहित वर्षा हुन थालेको हो । जसअनुसार काठमाडौं उपत्यकामा पनि लामो समयपछि हल्का वर्षा भएको छ । वर्षा नहुँदा धुवाँ, धुलो र प्रदूषणसहितको बाक्लो तुवाँलो लाग्दा उपत्यका खाल्डोको वायु मानव स्वास्थ्यका लागि हानिकारक बन्दै गएको थियो । हल्का वर्षाका कारण प्रदूषणको मात्रा कम भई स्वच्छ हावा आवतजावतका लागि वातावरण बनेको मौसमविद् बताउँछन् । राम्ररी वायुमण्डल सफा हुन अझ केही वर्षा हुनुपर्ने छ ।